अर्थ

जागिर छाडेर माछापालन

रसुवा–  गोसाइँकुण्ड गाउँपालिका–६ का माया लामा र सुशील संग्रौला दम्पती हुन् । पाँच वर्षअघि मायाको काठमाडौंस्थित गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्समा जागिर थियो भने सुशीलको डिस होममा ।

जागिर गर्दै गर्दा दुवैजनाले आफैंले व्यावसाय सुरु गर्ने योजना बनाए । उनीहरुले जिल्लामा सम्भाव्यता अध्ययन गर्दै कृषि र पर्यटनसम्बन्धी व्यवसाय गर्ने योजना बनाए । योजनाअनुसार उनीहरुले जिल्लाको स्याफ्रुमा व्यावसायिक माछापालन गर्ने नयाँ सोच बनाए ।योजना अनुसार चार वर्षअघि करिब ७६ लाख रुपैयाँ लगानीमा स्याफ्रुमा द ग्रिन हाउस फर्म स्थापना गरियो । त्यसमा ३६ लाख रुपैयाँ हिमाली आयोजनाको सहयोग र बाँकी आफ्नै लगानी रहेको व्यवसायी एवं सञ्चालक संग्रौलाले बताए ।

उक्त व्यवसायबाट वार्षिक दुई लाख रुपैयाँसम्म बचत हुने गरेको उनले सुनाए । अहिलेसम्म डेड करोड खर्च भएको संग्रौलाको भनाइ छ । उनको यो योजनामा लामाले पनि उतिकै साथ दिएकी छिन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेंसी सडक सञ्चालनमा आएपछि व्यवसाय अझै फस्टाउने लामाले सुनाइन् ।

जिल्लामा माछा उत्पादन सोचेजस्तो हुन नसक्दा माग अनुसारको आपूर्ति गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘यहाँ उत्पादित माछा जिल्लाकै लागि पुगेको छैन, यहाँ आवश्यकता अनुसार नुवाकोटबाट आयात गर्ने गरेका छौं ।’‘हामीले खाना र बासको समेत व्यवस्था गरेका छौं,’ उनले भने, ‘त्यसकारण खाने माछा बाहिरबाट आयात गर्नु परेको हो ।’

रेन्बो ट्राउट माछापालनको अवस्था
जिल्लामा २०६१ देखि व्यावसायिक रुपमा रेन्बो ट्राउट माछापालन सुरु भएकोे पाइन्छ । गोसाइँकुण्ड गाउँपालिका–६ सोलेका लवाङग्याल्बो घलेले जिल्लामा व्यावसायिक माछापालन सुरु गरेका हुन् ।
०६३-६४ मा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सुरु भएपछि कृषक माछापालनतर्फ थप आकर्षित बनेका थिए । जिल्लामा अहिले सातवटा व्यावसायिक माछा फर्म सञ्चालनमा रहेका छन् । जिल्लामा माछापालनका लागि एक गाउँ एक उत्पादन, हिमाली आयोजना र जिल्ला कृषि विकास कार्यालयले सहयोग पुर्याएको छ ।

जिल्लामा उत्पादित माछामध्ये ८० प्रतिशत जिल्लाभित्र नै खुद्रा बिक्री हुने गरेको छ । बाँकी २० प्रतिशत माछा चीनको केरुङ र काठमाडौं लैजाने गरिएको छ । कृषकले खाने माछा बिक्रीबाट वार्षिक ६० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।जिल्लाको धुन्चे र स्याफ्रुमा व्यावसायिक माछापालन हुँदै आएको छ । माछाले राम्रो बजार लिन थालेसँगै व्यवसायी अहिले रसुवागढी नाकामा समेत व्यवसाय सुरु गर्न थालेका छन् ।

माग अनुसारको उत्पादन हुन सकेन्
जिल्ला वार्षिक ६.६ मेट्रिक टन माछा उत्पादन हुने गरेको भएपनि मागअनुसार उत्पादन गर्न नसकिएको व्यवसायी बताउँछन् ।जिल्लामा माछापालन व्यवसाय बढ्दै गएपनि वजारको समस्या नभएको व्यवसायी तुलुसिङ्गी तामाङले बताए । ‘जिल्लामा अहिले माछा पाल्ने किसान बढेका छन्,’ उनले भने, ‘व्यवसाय बढेपनि मागअनुसार हामीले उपलब्ध गराउन सकेका छैनौं ।’

जिल्लामा उत्पादित माछा नुवाकोट, काठमाडौं, पोखरा लगायत सहरमा समेत बिक्री गर्ने गरिएको गरेको छ । जिल्लामा रहेको सातवटा व्यावसायिक फर्ममा रहेका ८० वटा रेसवेबाट ६.६ मेट्रिक टन माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
जिल्लामा तीनवटा निजी फर्मले माछाको भुरासमेत उत्पादन गर्दै आएका छन् । तीनवटा फर्मबाट वार्षिक दुई लाख भुरा उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । प्रतिभुरा १० रुपैयाँमा बिक्री हुने अधिकृत पाठकले बताए । उनले भने, ‘रेन्बो ट्राउटको भुरा बिक्रीबाट कृषकले वार्षिक १० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।’जिल्लाभित्र अहिले प्रतिकिलो १३ सय रुपैयाँका दरले माछा बिक्री हुँदै आएको उनले बताए।

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:१५ आइतबार

जागिर छाडेर माछापालन