अर्थ

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड

काठमाडौं – पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता भिमसेनदास प्रधानले रिक्सा तथा ठेलालाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।नेपाल रिक्सा तथा ठेला श्रमिक संघको चौथो काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले महानगर- नगरभित्र सञ्चालनमा रहेका सबै रिक्सालाई सरकारी मातहत दर्ता गर्न सके लाखौं राजस्व उठ्ने बताए ।

प्रधानले रिक्सा तथा ठेला श्रमिकले निर्वाधरुपमा काम गरेर खान पाउने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिए । रिक्सा चालकमा अनुशासनको खाँचो रहेको बताउँदै यसमा ध्यान दिन उनले आग्रह गरे ।
नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष खिलनाथ दाहालले देशभर रहेका रिक्सालाई व्यवस्थित गर्न सरकार उदासीन भएको बताए । दाहालले रिक्सा चालकको बिमा तथा सामाजिक सुरक्षाको व्यवस्था राज्यले गर्न जरुरी रहेको बताए ।

कुनै चालक बिरामी एवं मृत्यु भएमा युनियनले सामाजिक सुरक्षा कोषबाट उनका परिवारलाई राहत दिँदै आएको उनको भनाइ छ । कार्यक्रमका अन्य वक्ताले रिक्सा श्रमिकको अधिकार सुनिश्चित गर्न राज्यले तत्काल पहल गर्नुपर्नेमा जोड दिए ।

संघको अधिवेशनबाट ज्ञानु राउतको अध्यक्षतामा सात सदस्यीय काठमाडौं जिल्ला कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा ताराबहादुर तामाङ, सचिव भक्तबहादुर कार्की, सहसचिव गणेशबहादुर बस्नेत र कोषाध्यक्षमा पिताम्बर खतिवडा सर्वसम्मत चयन भएका छन् । कार्यसमिति सदस्यमा कृष्णबहादुर थापा र पूर्णबहादुर थापा मगरलाई चयन गरिएको छ ।

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:३५ आइतबार

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड