अर्थ

वडामै योजना सम्झौता

प्रायः पालिकामै वडाभरिका योजनाकाे सम्झौता हुने गर्दछ, तर दैलेखको महावु गाउँपालिकामा घुम्ती शिविर राखेर जनताको सहजताका योजना सम्झौता वडामै हुने गरेको छ। विभिन्न वडामा समय तोकेर योजनाको सम्झौता गरिएको हो।

योजना सम्झौता गर्न पालिकासम्म आउन टाढा हुने र विभिन्न झन्झटिलो प्रकृयाले नागरिकहरूले सास्ती पाएको गुनासो आएसंगै गाउँपालिकाका कर्मचारीहरू विदाको दिन पारेर वडामै पुगी योजना सम्झौता गर्ने गरेको गाउँपालिकाका (कार्यवाहक) अध्यक्ष मन्जु पाण्डेले बताइन्।

सम्झौताका लागि काजगपत्र तयारी अवस्थामा हुने र पालिकाबाट कर्मचारी खटिएर वडामा बिनियोजित योजनाको सम्झौता हुने गरेको छ।

गाउँपालिकाले प्रत्येक वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिहरूलाई राहत हुने प्रमुख प्रसासकीय अधिकृत उदयराज उपाध्यायले बताए। ‘कार्यवाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाहरूको सम्झौता हुने गरेको छ,’ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने।

‘वडा पुग्नु पूर्ववडासचिवमार्फत सवै काजगपत्र तयारी गर्न भनिरहेका हुन्छौं। त्यहीअनुसार सम्झौता गर्न सहज हुने गरेको छ’, उनले भने। योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालय आउजाउ, खर्च उत्तिकै हुने गरेकामा सबै रोकिएको भन्दै उपभोक्ता समितिहरू खुसी भएका छन्।

गाँउपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा बैंक खाता पनि खोलिदिने गरेको छ। चालुु आर्थिक वर्षमा सञ्चालन हुने सबै योजनाहरू वडा तहमै सम्झौतासहित बैंक कर्मचारीको सहयोगमा वडामै खाता खोल्ने गरेको गाउँपालिकाले जनाएको छ।

योजनाबारेमा वडामा पुग्दा थाहा हुने र जसले गर्दा कहाँ के योजना आवश्यक रहेको जनप्रतिनिधि र कर्मचारीले बुझ्ने भएकाले प्रभावकारी भएको गाउँपालिकाका प्रवक्ता प्रकाश थापाले बताए।

प्रकाशित: २३ पुस २०८० ०२:५८ सोमबार

योजना सम्झौता घुम्ती शिविर महावु गाउँपालिका