झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बाली विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ। आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो।
मेचीनगर नगरपालिका-४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए। परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले जानकारी दिए।
‘हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ। मानव जातिले जंगली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए’, वडाध्यक्ष कार्कीले भने, ‘हामीले अर्गानिक र ग्रामीण खानेकुरा संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ।’
उनले कमल गाउँपालिका-२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुलसमेत प्रदर्शनमा राखिने जानकारी दिए।
वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन्। –रासस
प्रकाशित: २१ पुस २०८० ११:३१ शनिबार