अर्थ

भारतीय अटोरिक्सा चलाउन दिन माग

सर्लाही – जिल्ला प्रशासन कार्यालयले भारतीय नम्बरका अटोरिक्सा चलाउन रोक लगाएको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले बिनासूचना गत शुक्रबारदेखि डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालनमा रोक लगाएको आरोप लगाएका छन्।

‘विगत सात वर्षदेखि मलंगवाबाट भारतको सोनवर्षा तथा त्यहाँबाट मलंगवा यात्रु ओसार्दै आएको थिएँ,’ मलंगवा नगरपालिका–१० का शिवनाथ झाले भने, ‘प्रशासनले हामीलाई अटोरिक्सा चलाउन दिएको छैन ।’ कम्तीमा दुई–तीन महिनाको समय दिएर सूचना निकाले भारतीय नम्बरका अटोरिक्सा बेचेर नेपाली नम्बर प्लेटको किन्न आफूहरु तयार रहेको उनले बताए।

‘अटोरिक्सा चलाउन रोक लगाएपछि हाम्रो रोजिरोटी नै खोसिएको छ,’ मलंगवा–९ का अटोरिक्सा व्यवसायी जितेन्द्र यादवले भने, ‘तीन दिनदेखि नेतादेखि सिडिओसम्म धाइरहेका छौं, कुनै सुनुवाइ भएको छैन।’

रौतहटको गौरबाट भारतको बैरगनियामा एक सय ६५ वटा भारतीय नम्बर प्लेटका अटोरिक्सा चलिरहेको दाबी गर्दै मलंगवामा २३ वटामात्र रहेको झाले जानकारी दिए । ‘रिक्सा वा टाँगाले सय रुपैयाँसम्म लिने गरेका छन्,’ उनले भने, ‘हामीले त प्रतियात्रु २५ रुपैयाँमा बोकिरहेका थियौं।’

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले भने मलंगवा–सोनवर्षाभन्दा पनि मलंगवाबाट नेपाल भित्रैका अन्य रुटमा यात्रु ओसार्ने गरेका यातायात व्यवसायीबाट गुनासो आएपछि भारतीय नम्बरका अटोरिक्सा चलाउन रोक लगाएको जानकारी दिए । ‘न भन्सार काटिएको छ, न त पटके नै छ,’ प्रजिअ कटवालले भने, ‘जताततै यात्रु ओसारेर कुद्ने गरेको गुनासो आएकाले भारतीय नम्बर प्लेटका अटोरिक्सा चलाउन रोक लगाइएको हो ।’ नेपाली नम्बर प्लेटका अटोरिक्सा सञ्चालनमा भने रोक नलगाइएको उनको भनाइ छ।

२३ वटा भारतीय अटोरिक्सा व्यवसायी सदरमुकाम मलंगवा निवासी छन् । ‘आधाभन्दा सस्तो भूल्यमा अटोरिक्सा पाइने भएकाले करकुटुम्बको नाममा भारतीय अटो किनेर चलाउन थालेको हुँ,’ मलंगवा निवासी मोहन राउतले भने, ‘नेपाली नम्बर प्लेटको किन्दा निकै महँगो पर्छ र सीमा क्षेत्रबाट १३ किलोमिटरसम्म दुई देशकै गाडी बिनाभन्सार चलाउन पाइन्छ भन्ने सुनेकाले भारतीय अटोरिक्सा किनेको थिएँ।’

प्रकाशित: २ फाल्गुन २०७४ ०२:०२ बुधबार

भारतीय अटोरिक्सा चलाउन माग