अर्थ

वैदेशिक रोजगारीमा हिरासतको बास

रेशमराज लामिछाने, सञ्चालक, फिस्टेल ओभरसिज

‘वैदेशिक रोजगारीका लागि युएई गएको केही महिनामै हिरासतमा बस्नुपर्‍यो,’ दोलखाका ३५ वर्षीय हर्कबहादुर बस्नेत भन्छन्, ‘आफ्नो देशमा जेल कस्तो हो भन्ने पनि थाहा थिएन। अर्काको देशमा बिनाकारण जेल परियो। कहिले जेल नपरेको मान्छेलाई नौ दिनको जेल बसाइ नौ वर्षजस्तै हुँदो रहेछ।’

ऋणको भारी बोकेर परिवारलाई सुख दिने सपना बोकेर युएई गए पनि सबै चकनाचुर भएको उनले बताए। ‘६ लाख ऋण गरेर युएई जाँदाको खुसी छुट्टै थियो। विदेश गएपछि मरेर भए पनि दुःख गर्ने आँट थियो,’ उनले भने, ‘तर त्यसको विपरीत भयो। जति जोसमा विदेश पुगेको थिएँ, सबै गुमाएर स्वदेश आएँ। आत्महत्या गर्ने प्रयास धेरै गरें। छोराछोरीलाई सम्झिएर स्वदेश फर्किएँ।’

पहिलाको ऋणको भारी हल्का पार्न फेरि ऋण थपेर वैदेशिक रोजगारीका लागि बस्नेतले युएई चुनेका थिए। युएई चुन्नु उनका लागि मृत्यु बराबर भयो। परिवारको मायाले आत्महत्या गर्न नसकेको उनले बताए। उनका एक छोरा र दुई छोरी छन्। बस्नेत मात्र होइनन्, ऋण काढेर युएई पुगेका धेरै युवाले हिरासतमा बस्नुपरेको छ।

अप्ठेरोमा परेका युवालाई नेपाल फर्काउन लागिपरेको युएईस्थित नेपाली दूतावासले पनि बस्नेतलाई सघाउने वचन दियो। दूतावासले बस्नेतललगायतलाई भनेको थियो, ‘तपाईंहरूको भिसाको म्याद सकिएको छ। यो लोकेसनमा जानुहोला? त्यहाँ पुगेर भिसाको म्याद थपेर भरे नै स्वदेश फर्किन सक्नुहुन्छ।’

बस्नेतलगायत अरू केही चार महिनादेखि युएईमा भोगेको दुःखले गर्दा कतिबेला नेपाल फर्कने भन्ने आतुरमा थिए। दूतावासले स्वदेश फर्कन सक्ने बताएलगत्तै बस्नेतले परिवारलाई खुसीको खबर पनि बाँडेका थिए।

‘नेपाल फर्कने खबर परिवारलाई गर्‍यौं। दूतावासले भनेको ठाउँमा सबै कागजात बोकेर गएका थियौं। त्यो ठाउँ त युएईस्थित प्रहरी चौकी रहेछ,’ बस्नेतले भने, ‘हामीलाई देख्नेबित्तिकै प्रहरीले हतकडी लगाएर हिरासतमा राख्यो। हामी अनाहकमा हिरासतमा पुग्यौं।’ बस्नेतले अगाडि भने, ‘हिरासतमा परेपछि ज्यान पुरै सुक्यो। एक अरबेलीले भिसाको म्याद सकिएकाले हिरासतमा बस्नुपरेको बताएको थियो।’

यता नेपालमा उनलाई लिन परिवारका सदस्य विमानस्थल पुगेका थिए। ‘परिवारका सदस्यले नेपाल एयपोर्टमा म आउने भन्दै रातभरि प्रतीक्षा गरेका रहेछन्,’ उनले भने, ‘तर म हिरासतमा परिसकेको थिएँ। विदेशको हिरासतमा खान, बस्न र सुत्न सबै राम्रो नै थियो। ऋण गरेर पैसा कमाउन आएको मान्छे हिरासतमा पर्दा मनमा कहाँ आनन्द हुन्छ र ?’ बस्नेतले भने।

बस्नेत असोज ६ गते युएई पुगेका थिए काठमाडौं सामाखुसीस्थित फिस्टेल ओभरसिज प्रालिका सञ्चालक रेशमराज लामिछानको बैंक खातामा पैसा जम्मा गरेर बस्नेतलगायत युएई गएका थिए। नेपाल फिर्ता भए पनि बस्नेतलगायतले पैसा फिर्ता नभएको गुनासो गरेका छन्।

‘हेभी ट्रक ड्राइभर’ को मागमा बस्नेतलगायत अन्य २५ जना नेपाली युवा फिस्टेल ओभरसिजमार्फत युएई पुगेका थिए। ती युवामध्ये हर्कबहादुर बस्नेत, बमबहादुर लोहार र सुरेश भुजेल गरी तीन जना युवाको भिसा अवधि सकिएका कारण ‘ओभरस्टे’मा हिरासतमा परेका थिए। उनीहरू अहिले स्वदेश फर्किएका छन्। हिरासतमा बसेर स्वदेश फर्किएका धेरै जना घर न घाट भएका छन्।

बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। लाखौं खर्र्चेर युएई पुगेका युवा काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नपाएपछि अलपत्र परेका थिए।

एक महिनापहिले नै काठमाडौं आइपुगेका ती युवा भने आफू म्यानपावरकै कारण ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका थिए। सञ्चालक लामिछानेले कसैसँग ६ लाख त कसैसँग ७ लाख रूपैयाँभन्दा बढी लिएको प्रमाणसहित विभागमा उजुरी परेको छ।

‘निवेदन दिएको महिना दिन पुगिसक्यो। तर कुनै कारबाही भएको छैन। फिस्टेल ओभरसिज म्यानपावरका सञ्चालक लामिछानेले लाखौंलाख असुलेर युवालाई विभिन्न देशमा पठाइरहेका छन्।’ ‘अझै किन सञ्चालनमा छ त्यो म्यानपावर? किन समातिँदैनन् सञ्चालक लामिछाने ?’ पीडित युवाको प्रश्न छ।

‘विभागले कारबाही गर्नै खोजेको छैन। फिस्टेल ओभरसिज म्यानपावरले विभिन्न प्रलोभन देखाएर युवालाई विदेश पठाइरहेको छ। फिस्टेल म्यानपावरले खुलेआम युवा ठगिरहेको छ,’ एक पीडितले भने। युएईमा पाँच महिनादेखि अलपत्र पारेका सिन्धुपाल्चोकका सरोज श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, अनिश परियार र काभ्रेका सञ्जीव कार्की पनि एक महिना पहिले स्वदेश फर्किए।

युएईस्थित नेपाली दूतावासमा लामिछानेले प्रत्येक व्यक्तिसँग ६ लाखभन्दा बढी लिएको स्विकारेको र सो रकम फर्काउने वचनका साथ दूतावासलाई पत्र पनि लेखेको विभागमा उजुरी दिन आएका बस्नेतले बताए। तर सञ्चालक लामिछाने सम्पर्कविहीन रहेको उनले बताए।  

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीको उजुरी लिने र मिलापत्र गराउने, उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ।

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार फिस्टेल ओभरसिज म्यानपावर सञ्चालक लामिछानेसँग छलफलका लागि कोसिस भए पनि सफलता मिलेको छैन। ‘हाल म्यानपावरका सञ्चालक लामिछाने युएईमै छन्। ‘वैदेशिक रोजगार ऐनबमोजिम लामिछानेलाई कानुनी दायरामा ल्याउँछौं,’ भुसालले भने।

प्रकाशित: २० पुस २०८० ०१:४७ शुक्रबार

वैदेशिक रोजगार युएई हर्कबहादुर बस्नेत जेल