अर्थ

रसुवागढी नाकामा एक महिना कारोबार ठप्प हुने

सामग्री आयातका लागि चीनको केरुङमा पुगेका कन्टेनर । तस्बिर : पुरुषोत्तम पौडेल

रसुवा – ल्होसारको कारण रसुवागढी नाकामा एक महिनासम्म व्यवसायिक कारोबार ठप्प हुने भएको छ। चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले फागुन १ गतेदेखि कारोबार ठप्प हुने भएको हो। 

चीनबाट नेपालमा आयात हुने रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्री आयात फागुन महिनाभरि नहुने रसुवागढी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयले फागुन महिनामा ३० करोड राजश्व उठाउने लक्ष्य राखेको छ। कारोबार नै ठप्प भएपछि लक्ष्य पूरा नहुने निश्चित भएको कार्यालयले जनाएको छ।   

लक्ष्य अनुसारको राजश्व संकलन गर्नलाई यो महिना सम्भव नभएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए। ‘राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गर्दा चाडपर्व हेरेर गर्नुपर्ने हो’, उनले भने, ‘यो महिना लक्ष्य अनुसार राजश्व नउठे पनि आगामी महिनामा दुबै महिनाको राजश्व उठाउने गरि कार्य अगाडी बढाउछौँ।’ 

कारोबार ठप्प हुने भएपनि दुबैतिरका भन्सार भने नियमित सञ्चालन हुने कोइरालाले बताए। ‘ल्होसारको समयमा एक महिनासम्म ट्रान्सर्पोट बन्द हुन्छ’, उनले भने, ‘आफैँले ट्रान्सर्पोट गर्ने सामग्रीको आयात नियमित हुन्छ।’ जलविद्युत आयोजनाका सामग्री र स्याउ नियमित आउने संभावना रहेको उनले बताए। 

चीनको केरुङमा रहेका नेपाली व्यापारी पुरुषोत्तम पौडेलका अनुसार नेपाली समय अनुसार सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाइएको थियो। एक महिनाका लागि कारोबार नहुने भएपछि नेपाली व्यापारी नेपाल फर्कन थालेका उनले बताए। चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन्। 

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। कार्यालयले साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको जनाएको छ। 
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २९ माघ २०७४ १४:०५ सोमबार

रसुवागढी नाकामा कारोबार ठप्प हुने