अर्थ

झोलुंगे पुलले जगाएको आशा

पक्की पुलको विकल्प बनेको बाँसको अस्थायी पुल। तस्बिर : नागरिक

सिराहा र धनुषाको दक्षिणी क्षेत्र जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण कार्य सुरु भएको छ। सिराहा नगरपालिका १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार पाँच सय एक मिटर (१५००.४४ मिटर) लामो झुलुंगे पुल निर्माण हुन लागेको हो।

सपना–उमा–थानी जेभी बतीसपुतलीले ३४ करोड रुपैयाँमा गत असार १५ मा निर्माण सम्झौता सस्पेन्सन ब्रिज डिभिजन ललितपुरसँग गरेको छ।

दुई वर्षभित्र अर्थात् ०८१ असार ३१ सम्म निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले माघकै दोस्रो सातासम्म निर्माण सम्पन्न गरिसक्ने भोलेन्टियर इन्जिनियर विनोद मण्डलले जानकारी दिए।

निर्माणाधीन यो एक हजार पाँच सय एक मिटर र १.४ मिटर चौडा झोलुंगे पुललाई देशकै सबैभन्दा लामो झोलुंगे पुल भनेर दाबी गरिएको छ। इन्जिनियर मण्डलका अनुसार देशभरमा यो नै सबैभन्दा लामो झोलुंगे पुल हो।

यो झोलुंगे पुल निर्माणले सिरहा–धनुषालाई आवागमनमा मात्र जोड्दैन; आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिकलगायतका काम पनि सहज बनाउने इन्जिनियर मण्डलले बताए।

पूर्वपश्चिम राजमार्गको कमला नदीमा पक्की पुल छ। त्यसपछि करिब ४० किलोमिटर दक्षिण भारतीय सहर जयनगर क्षेत्रमा पर्ने कमला नदीमा पक्की पुल छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा छ।

सीमावर्ती गाउँसहरका जनतालाई प्रदेश राजधानी पुग्न भारतीय सहर जयनगर हुँदै जानुपर्ने बाध्यता छ। राजमार्ग पुग्नुभन्दा जयनगर उनीहरूका लागि छरितो र सजिलो यात्रा हुन्छ।

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाले बनाइदिएको बाँसको पुल गन्तव्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी वारपार गर्छन्।

जयनगर र राजमार्गका बीचमा हुलाकी राजमार्ग छ, जसअन्तर्गत कमला नदीमा पुल निर्माण कार्य हुँदै थियो। १२ वर्ष लगाएर निर्माण गरिएको सो पुल ०७८ असारमा कमला नदीमा आएको भेलले भासियो। यो पक्की पुल सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २४ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको थियो, तर दुईपटक म्याद थपेर ०७५ मंसिर ३० सम्म समय लम्ब्याइयो। तर ठेकेदारको लापरबाहीका कारण पुल पूरा हुन नसकेपछि पुनः म्याद थपेर ०७८ असार १३ सम्म पु¥याइयो। पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण कमला नदीमा आएको सामान्य भेलले भासिएको यो पुलको पुनर्निर्माण अन्योलका बीच २०७९ फागुन १५ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री एवं हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ दलबलसहित यहाँ आएर चाँडै पुल बनिसक्ने आश्वासन दिएका थिए। उनी फर्किएपछि सुस्त गतिमा काम त सुरु भयो, तर निरन्तरता भएन। कामको गति हेर्दा पुल चाँडै बनिहाल्ने विश्वास स्थानीयलाई छैन।

अहिले लुम्बिनी बिल्डर्सले आफ्नै खर्चमा पुल पुनर्निर्माण गरिरहेको छ। चालु आर्थिक वर्षभित्र पुल पुनर्निर्माण सक्ने गरी काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरको भनाइ छ।

आगामी असारसम्ममा पुल सम्पन्न हुने लक्ष्य लिइए पनि गति हेर्दा लक्ष्य पूरा हुने देखिँदैन, सिरहाका बुद्धिजीवी देवकुमार यादव भन्छन्, ‘कमलामा पुल नबन्दा हजारौं सर्वसाधारणको दैनिकी सास्तीले भरिएको छ।’ जोखिम मोलेर बाँसको अस्थायी पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य छन्। यसले यस क्षेत्रको आर्थिक समुन्नति र विकाससमेत थामिएको यादव बताउँछन्।

निर्माणधीन झोलुंगे पुलले यस भेगका जनतामा आशाको नयाँ पालुवा पलाएको छ। मोटरसाइकल र पैदल यात्रीका लागि यो पुलले सहजता प्रदान गरे पनि ठूला सवारी साधनका लागि पक्की पुलको विकल्प छैन।

 

फोटोहरुः१. बन्दै गरेको झोलुंगे पुल

२.भासिएको पक्कि पुल

३.पक्की पुलको विकल्प बनेको बाँसको अस्थायी पुल। तस्बिर ः नागरिक

 

प्रकाशित: १९ पुस २०८० ०५:४६ बिहीबार

कमला नदी झुलुंगे पुल सिराहा र धनुषाको दक्षिणी क्षेत्र मल्हनिया कठाल