अर्थ

नेपालमै पहिलो पटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

नेपालमै पहिलो पटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ।

लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो।

३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरूले तालिम लिन सक्नेछन्।

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए। स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने,  कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ।

प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ। साथै अन्य सुविधाहरू पनि क्रमशस् विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए।

उनले गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तव्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाइडिङ स्कुल महत्त्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ। पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात् स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनले बताए।

प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन्। हालैमात्र रेडबुलको एड्भेन्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो। त्यसपश्चात् उनीहरुले स्कुलसँग सहकार्य गर्ने  प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए।

प्रकाशित: १८ पुस २०८० १२:५६ बुधबार

अल्टिच्युडको प्याराग्लाइडिङ