अर्थ

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा

काठमाडौं – अन्तर्राष्ट्रिय सिँचाइ तथा जल विकास नियोगको आठौं एसियाली सम्मेलन काठमाडौंमा हुने भएको छ । नेपाल सरकार, सिँचाइ विभाग र नेपाल राष्ट्रिय सिँचाइ तथा जल निकास समिति (नेन्सिड)को संयुक्त आयोजनामा वैशाख १९ देखि २१ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

‘सदा हरित क्रान्तिका लागि सिँचाइ’ नारासहित हुन लागेको सम्मेलनमा २२ मुलुकका एक सय अनुसन्धान एवं अनुभव सम्बन्धी कार्यपत्र प्रस्तुत हुने सिँचाइ विभागले जनाएको छ । विभागले पत्रकार सम्मेलन गर्दै उपविषयमा आधारित पाँचवटा परिसम्बाद (सिम्पोसियम) समेत आयोजना गरिने बताइएको छ । ३० देशका झन्डै दुई सय विदेशी वैज्ञानिक र प्राविधिक सहभागी रहने सम्मेलनमा नेपालबाट तीन सय ५० प्राविधिक एवं वैज्ञानिकको सहभागिता रहने छ।

नेपाल सरकार, युएस एड, विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय जलस्रोत व्यवस्थापन संस्था, इसिमोड एवं कृषक व्यवस्थित सिँचाइ प्रणाली गुठीको आर्थिक एवं व्यवस्थापनमा सहयोग रहने विभागले जनाएको छ।

नेपालमा सिँचित कृषिको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको जनाउँदै आइसिआइडीका उपसभापति माधव बेल्वासेले सिँचाइ तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र यस क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धात्मक र प्राविधिक क्षमता अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण योगदान पुग्ने दाबी गरे।   

प्रकाशित: २८ माघ २०७४ ०७:१० आइतबार

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा