अर्थ

दर्जन जलविद्युत् आयोजना निर्माण हुँदै

माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माणाधिन विद्युत् गृह । तस्बिर : नागरिक

रसुवा – जिल्लामा अहिले १२ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदै छन् ।

न्यूनतम पाँच मेगावटदेखि दुई सय १६ मेगावट क्षमताको आयोजना निर्माण भइरहेको विद्युत् विकास विभागले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा एउटा र बाँकी आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको बताइएको छ ।

जिल्लाभित्रै निर्माण हुन लागेको यी आयोजनाबाट ५८८.७२ मेगावट विद्युत् उत्पादन हुने छ । आगामी पाँच वर्षभित्र यी आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन् ।इजाजत लिएर निर्माण प्रक्रिया सुरु गरिसकेका आयोजनामध्ये दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक, एक सय ११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ६० मेगावटको माथिल्लो त्रिशुली थ्रिए, ४२.५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला रहेका छन् ।त्यसैगरी १४.८ मेगावटको माथिल्लो सान्जेन, १४.७ मेगावटको फलाखुखोला, १४.३ मेगावाटको माथिल्लो मैलुङखोला, ६.४२ मेगावटको माथिल्लो मैलुङ ए, ६ मेगावटको न्यामन्याम र पाँच मेगावटको फलाखु खोला रहेका छन् ।

रसुवागढीको ५५ प्रतिशत, सान्जेनको ५०, माथिल्लो सान्जेनको ६५, माथिल्लो त्रिशुली थ्री ‘ए’को ७० प्रतिशत काम सम्पन्न भएको आयोजना निर्माण कम्पनीले जनाएका छन् । माथिल्लो त्रिशुली थ्री ‘ए’का आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको करिब ७० प्रतिशत काम सकिएको छ ।
२०७६ सम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको उनले बताए । ‘हेडवर्क, पानी थिग्राउने पोखरी, टनेल, टेलरेस, पेनस्टक, हेडपोन्ड लगायत स्थानमा काम भइरहेको छ,’ उनले भने, ‘पावर हाउस बाहिरको पानी छिर्न नदिन ग्राउन्डिङको काम भइरहेको छ ।’

रसुवाको स्याफ्रुमा निर्माण हुन लागेको लाङटाङखोला जलविद्युत् आयोजनाको प्रि–कन्स्ट्रक्सनको कार्य भइरहेको छ । आयोजनाले पहिलो चरणमा जग्गा खरिद, पहुँच मार्गको ट्र्याक खोल्ने, बेलिब्रिज निर्माण गर्ने लगायत कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजना निर्माणका लागि जग्गा खरिदको काम सकिएको छ । पावर हाउसदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गको ट्रयाक खोल्ने कार्य सकिएको आयोजनाका डेपुटी म्यानेजर नारायण सुवेदीले बताए ।
माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको हेडवर्कसतर्फ ८० प्रतिशत काम सकिएको छ । अहिले बालुवा थिग्राउने र पानी बग्ने क्यानल निर्माण कार्य भइरहेको आयोजनाका प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए ।

माथिल्लो त्रिशुली एक को निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता पिपिएमा हस्ताक्षर भएर प्रक्रिया अघि बढेको छ । अन्य आयोजनाले पनि निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् ।

दुई आयोजना सञ्चालनमा
जिल्लामा अहिले २७ मेगावट क्षमताका दुईवटा जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । जिल्लाको स्याफ्रुमा २२ मेगावट क्षमताको चिलिमे जलविद्युत् आयोजना र मैलुङमा पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् आयोजना सञ्चालन भइरहेको छ ।

यी दुवै आयोजना ‘रन अफ द रिभर’ प्रणालीमा निर्माण भएकाले बर्खामा क्षमता बढ्ने र हिउँदमा पानीको बहावमा कमी आउने भएकाले विद्युत् उत्पादनमा कमी आउँछ ।२०६० देखि उत्पादन थालेको चिलिमे जलविद्युत् आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत, प्राधिकरण र चिलिमेका कर्मचारीको २५ प्रतिशत, सर्वसाधारणको १४ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


 

प्रकाशित: २५ माघ २०७४ ०२:३२ बिहीबार

दर्जन जलविद्युत् आयोजना निर्माण हुँदै