अर्थ

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माणाधिन विद्युत गृह । तस्बिर : नागरिक

रसुवा – जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्। 

न्युनतम ५ मेगावटदेखि २१६ मेगावट क्षमताको आयोजना निर्माण भइरहेको विद्युत विकास विभागले जनाएको छ। नेपाल विद्युत प्राधिकरणको लगानीमा एउटा र बाँकी आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको बताइएको छ। 

जिल्लाभित्रै निर्माण हुन लागेको आयोजनाबाट ५८८.७२ मेगावट विद्युत उत्पादन हुने छ। आगामी ५ वर्षभित्र यी आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने छन्। 

इजाजत लिएर निर्माण प्रक्रिया सुरु गरिसकेका आयोजनामध्ये २१६ मेगावट क्षमताको माथिल्लो त्रिशुली एक , १११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ६० मेगावटको माथिल्लो त्रिशुली थ्रिए, ४२.५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला रहेका छन्। 

त्यसैगरी १४.८ मेगावटको माथिल्लो सान्जेन, १४.७ मेगावटको फलाखुखोला, १४.३ मेगावटको माथिल्लो मैलुङखोला, ६.४२ मेगावटको माथिल्लो मैलुङ ए, ६ मेगावटको न्यामन्याम र ५ मेगावटको फलाखु खोला रहेका छन्। 

रसुवागढीको ५५ प्रतिशत, सान्जेनको ५०, माथिल्लो सान्जेनको ६५, माथिल्लो त्रिशुली थ्रिएको ७० प्रतिशत काम सम्पन्न भएको आयोजनाहरुले जनाएका छन्। माथिल्लो त्रिशुली थ्रिएका आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको करिब ७० प्रतिशत काम सकिएको छ। 

२०७६ सालसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको उनले बताए। ‘हेडवर्क, पानी थिग्राउने पोखरी, टनेल, टेलरेस, पेनस्टक, हेडपोण्ड लगायत स्थानमा काम भैरहेको छ उनले भने, पावर हाउस बाहिरको पानी छिर्न नदिन ग्राउण्डिङको काम भैरहेको छ।’

रसुवाको स्याफ्रुमा निर्माण हुन लागेको लाङटाङखोला जलविद्युत आयोजनाको प्रि–कन्ट्रक्सनको कार्य भइरहेको छ। आयोजनाले पहिलो चरणमा जग्गा खरिद, पहुँच मार्गको ट्रयाक खोल्ने, बेली व्रिज निर्माण गर्ने लगायतको कार्य अन्तिम चरणमा पुगेको छ। 

आयोजना निर्माणका लागि जग्गा खरिदको काम सकिएको छ। पावर हाउसदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गको ट्रयाक खोल्ने कार्य सकिएको आयोजनाका डेपुटी म्यानेजर नारायण सुवेदीले बताए। 

माथिल्लो सान्जेन जलविद्युत आयोजनाको हेडवर्कसकोतर्फ ८० प्रतिशत काम सकिएको छ। अहिले बालुवा थिङ्ग्रयाउने र पानी बग्ने क्यानल निर्माणमा काम भइरहेको आयोजनाका प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए। 

माथिल्लो त्रिशुली एक को निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच विद्युत खरिद बिक्री सम्झौता पीपीएमा हस्ताक्षर भएर प्रक्रिया अघि बढेको छ। अन्य आयोजनाले पनि निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् । 

२७ मेगावट क्षमताको दुई वटा आयोजना सञ्चालनमा 

जिल्लामा अहिले २७ मेगावट क्षमताका दुई वटा जलविद्युत आयोजना सञ्चालनमा रहेका छन्। जिल्लाको स्याफ्रुमा २२ मेगावट क्षमताको चिलिमे जलविद्युत आयोजना र मैलुङमा ५ मेगावट क्षमताको मैलुङ जलविद्युत आयोजना सञ्चालन भइरहेको छ। 

यी दुबै आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भएकाले बर्खामा क्षमता बढ्ने र हिउँदमा पानीको बहावमा कमी आउने भएकाले विद्युत उत्पादनमा कमी आउँछ। 

२०६० सालदेखि उत्पादन थालेको चिलिमे जलविद्युत आयोजनामा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत, प्राधिकरण र चिलिमेका कर्मचारीको २५ प्रतिशत, सर्वसाधारणको १४ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको १० प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रकाशित: २४ माघ २०७४ १६:०४ बुधबार

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै