अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ।
ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जनाएको छ।
पौष १५ गते आइतबार साँझ साढे ५ बजे सुरु हुने महोत्सवको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।
उनले ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने अभियानमा जुट्न आग्रह गरे। उनले पर्यटकको सुरक्षाका लागि ठमेलका गल्लीमा सिसी क्यामेरा जडान गरिएको बताउँदै २४ सै घण्टा सामूहिक अनुगमन टोली चलाउने पनि उल्लेख गरे।
अध्यक्ष शर्माले गत वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षमा आगमन भएको र यस वर्षमा पनि एक लाख ८० हजार पर्यटक आउने अपेक्षा रहेको बताए।
प्रकाशित: १४ पुस २०८० ०७:४९ शनिबार