अर्थ

बेमौसमी मकै खेतीबाट आम्दानी

फाइल तस्वीर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका- ६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गरेका छन्।

विगत १५ वर्षदेखि बेमौसमी मकै खेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रुपैयाँ आम्दानी गरेका छन्।

रिजालले भने, ‘हरिया मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौं।’

रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा चार लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्।

‘बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौं’, उनले भने, ‘हरियो मकैको प्रतिघोगा पाँचदेखि दश रुपैयाँका दरले तथा सुक्खा प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ।’

बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दैआएको गैंडाकोटकै सरस्वती सापकोटाले बताए। व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने सापकोटाले बताए।

हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आएकी स्थानीय सावित्री शर्माले बताइन्।

‘प्रतिघोगा पाँचदेखि दशमा खरिद गरेर २० देखि २५ रुपैयाँमा पोलेको मकै बिक्री हुने गरेको छ’, उनले भने।

जिल्लाको गैंडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुने गरेको छ।

जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौं, पोखरालगायत मुख्य सहरमा पोलेर खाने हरियो मकै गैंडाकोटबाट निर्यात हुँदै आएको स्थानीय कृषकले बताएका छन्।

गैंडाकोट नगरपालिका ६, ७ र ८ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैंडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताए।

‘गैंडाकोटको नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुने गरेको छ, बाह्रैमास मकै उत्पादन हुने भएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्’, उनले भने।

गैंडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ। प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताए।

 ‘आर्थिक वर्ष २०७८–७९ मा प्रतिहेक्टर तीन सय ५० मेट्रिक टन उत्पादन भएको थियो’, उनले भने, ‘२०७९–८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ।’

गैंडाकोटमा बर्खे मकै सात हजार तीन सय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको छ। हिउँदको समयमा लगाइएका हरियो मकै मात्र तीन करोड बढीको गैंडाकोट क्षेत्रबाट बिक्री हुने गरेको कृषि शाखा प्रमुख शर्माले जानकारी दिए। –रासस

प्रकाशित: १४ पुस २०८० ०४:२३ शनिबार

गैँडाकोट नगरपालिका मकै खेती तिलकप्रसाद रिजाल बर्दघाट सुस्तापूर्व