अर्थ

अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं-  राष्ट्र बैंकले रोक्का गरेरको अजेयराज सुमार्गीको करिब सवा २ अर्ब रुपैयाँ निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।  

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो।  

पैसा रोक्ने कानुनी आधार नदेखिएको अन्तरिम आदेशमा भनिएको छ। सम्पत्ति शुद्धीकरण लगायतका विषयमा असर नपर्ने किसिमबाट रकम निकाल्न पाउने गरी आदेश दिइएकोछ।  नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकाल्न पाउनुपर्ने माग गर्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।

नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा साइप्रसबाट आएको २ करोड १३ लाख अमेरिकी डलर उद्योग विभागले स्रोत नखुलेको भन्दै रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेखेको आधारमा उनको रकम निकासा रोक्का भएको थियो।

 

प्रकाशित: २३ माघ २०७४ ११:३७ मंगलबार

अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश