अर्थ

सीधा यातायातले जोड्याे खोटाङ र सोलुखुम्बु

पहिलोपटक आइपुगेको बस चालकलाई स्वागत गर्दै सोलुखुम्बुको सुकेपोखरीका स्थानीय। तस्बिर : महेश्वर

पहाडी जिल्ला खोटाङ र सोलुखुम्बु सीधा यातायातले जोडिएका छन्। खोटाङ सदरमकुाम दिक्तेलदेखि सोलुखुम्बुको सुकेपोखरीसम्म चल्ने सार्वजनिक बस सेवा बिहीबार सुरु भएसँगै खोटाङ र सोलुखुम्बु सीधा यातायातले जोडिएका हुन्।

सदरमुकाम दिक्तेलदेखि हरेक दिन तीन बजे छुट्ने बस सोलुखुम्बुको थुलुङ–दूधकोशी गाउँपालिकाको लोखिम–जुबु–लुहारे हुँदै सुकेपोखरीको गन्तव्य पूरा गर्ने खोटाङ यातायात प्रालिले जनाएको छ। प्रालिका अनुसार खोटाङदेखि सोलुुको जुबुस्थित सुकेपोखरी पुग्न खोटाङको जालपा–ऐसेलुखर्क हुँदै जाने रुट तय गरिएको छ।

केही दिनअघि परीक्षणका लागि दिक्तेलदेखि सुकेपोखरीसम्म बस लगिएको थियो। पहिलोपटक गाउँमा आएको बस र बसचालकलाई स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले खादा, अबिर र माला लगाएर स्वागत गरेका थिए।

परीक्षण सफल भएसँगै अब दैनिक बस चल्ने प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। उनका अनुसार दिक्तेलबाट सात घन्टामा पुगिने सुकेपोखरी आवतजावत गर्न एकतर्फी भाडा जनही एक हजार तोकिएको महासचिव हिङमाङले बताए।

दिक्तेल–सोलु सोझो बस सेवा चल्न थालेपछि दुवै जिल्लावासीलाई सहज हुने भएको छ। शदीयौंदेखि पैदल हिँड्दै आउजाउ गर्दै आएका स्थानीयलाई अब बसबाटै ओहोरदोहोर गर्न र सामान ढुवानी गर्न सहज भएको छ।

पैदल यात्रा गर्दा भारी बोकेर तीनचार दिन लाग्ने गथ्र्यो भने रित्तो पनि डेढदुई दिन लाग्थ्यो। बटुवा जंगलबीचमै कुवा, खोल्सी र पँधेरानजिक पारेर बास बस्नुपर्ने बाध्यता थियो। ‘जिजु पुस्तौंदेखि हामी दिक्तेल–सोलु पैदल हिँडेर आउजाउ गथ्र्यौं, त्यो पनि भारी बोकेर’ दिक्तेलका सेरकुमार बिकले भने, ‘बल्ल बस चल्यो, अब भने दुःखका दिन गएजस्तो लागेको छ।’ अबदेखि सधैं बस चले हुन्थ्यो भन्ने लागेको पनि विकले बताए।

खोटाङ र सोलुबीचमा पारिवारिकदेखि आर्थिक सम्बन्ध बाक्लो रहेकाले पनि शदीयौंदेखि बाक्लो आउजाउ रहँदै आएको छ। सोलुका दक्षिणी भेग र खोटाङको उत्तरी भेगका स्थानीयबीच नाता सम्बन्धदेखि आर्थिक कारोबारसम्म चल्दै आएकाले पनि सो रुटमा सडक चल्नु अपरिहार्य देखिएर बस सेवा सुरु गरिएको यातायात प्रालिले जनाएको छ। सोलुका विभिन्न भागका कृषि उपज खोटाङको ऐंसेलुखर्क बजार हुँदै दिक्तेल तथा खोटाङका उपभोग्य सामग्री सोलुखुम्बु लाने ल्याउने क्रम पहिल्यैदेखि चल्दै आएको उनीहरू बताउँछन्।

ऐंसेलुखर्कमा हरेक शनिबार लाग्ने हटियामा आउने सेवाग्राही सोलुको सुकेपोखरी, जुबुलगायतका बासिन्दा हुने गरेको र सो बजारदेखि दिक्तेल र सोलु आउजाउ गर्ने ‘ट्रान्जिट पोइन्ट’ रहँदै आएको छ। सोझो बस सेवा चलेपछि ऐंसेलुखर्क र सुकेपोखरीका स्थानीय बजार पनि बढ्ने अपेक्षा स्थानीयले गरेका छन्। साथै सडक मार्गले छोएका गाउँबस्तीमा उत्पादित कृषि उपजले बजार पाउने भएकाले उनीहरूमा उद्यम व्यवसाय पनि वृद्धि हुने भन्दै खुसी भएका छन्।

प्रकाशित: १३ पुस २०८० ०६:२५ शुक्रबार

खोटाङ र सोलुखुम्बु सडक यातायात बस सेवा सुकेपोखरी