अर्थ

पूर्वमा खुल्यो ‘मुन्दुम ट्रेल

  भोजपुर– पूर्वी नेपालका मध्य पहाडी क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले मुन्दुम पदमार्ग एक्सप्लोर गरिएको छ । काठमाडौंमा बस्दै आएका पूर्वेलीहरुको संस्था ‘मैयुङ, टेम्के, साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र’ले खोटाङ र भोजपुर जोड्ने पदमार्ग अन्वेषण गरेको हो ।  

 दश दिन पदयात्रा र आउन जान दुई दिन गरी काठमाडौंबाट निस्कने पदयात्रीले १२ दिन समय छुट्टयाउनु पर्ने केन्द्रका अध्यक्ष रमेश राई बताउँछन् । उनकै अगुवाइमा पर्यटनविज्ञ पवन शाक्य, शुरेन्द्र राना, इन्सु राई, मोहन राई र श्याम सामसुङ राई सहितको टोलीले हालै पदमार्गको संभाव्यता अध्ययन गरेको हो ।
मुन्दुम पदमार्ग हिमाली सौन्दर्य, किराती जीवनशैली र जैविक विविधताको त्रिबेणीधाम मानिन्छ । पदमार्गबाट ८ हजार मिटर भन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ– सगरमाथा, ल्होत्से, चोयु, मकालु, सिसापाङमा र कञ्चनजंघा ।

‘एउटै यात्रामा यति धेरै अग्ला हिमाल नेपालका अन्य पदमार्गबाट देखिँदैन’, विगत दुई दशकदेखि पर्वतीय पर्यटनमा सक्रिय पथप्रदर्शक इन्सु राई भन्छन्, ‘त्यसैले यसको भबिश्य उज्जवल देखिन्छ ।’पदमार्ग छेउछाउमा किराती राई समुदायको बसोबास छ । उचाईका हिसाबले यो मार्ग मध्यम खालको छ । चखेवा भञ्ज्याङ  २३ सय मिटर उचाईमा छ भने सिलिचुङ  ४१ सय ५३ मिटरमा ।  पदमार्ग भोजपुरको चखेवा भञ्ज्याङबाट धोत्रे, मैयुङ, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङसम्म पुग्छ । फर्कंदा साल्पा भञ्ज्याङबाट हयाकुले, हाँसपोखरी, सुन्तले बजार हुँदै सदरमुकाम भोजपुर बजारसम्म पदयात्रा गरिन्छ ।  

मुन्दुममार्गका टेम्के, हाँसपोखरी, सिलिचुङ र साल्पा पोखरी हिन्दु, बौद्धमार्गी र किरातीका साझा तीर्थ हुन् । सबैतिर होटल तथा लज सुविधा नभएकाले पदयात्रीले बन्दोबस्तीका सामानसहित क्याम्पिङ  ट्रेल गर्नु पर्छ । चखेवा भञ्ज्याङ, धोत्रे, साल्पा भञ्ज्याङ, सुन्तले र भोजपुर बजारमा मात्र होटल छन् ।अन्वेषण टोलीले पदमार्गका गोरेटामा सेतो र रातो इनामेल रंगले टे«ल मार्किङ पनि गरेको छ । ‘लौरी डाँडा र सिलिचुङ उकालोमा पदमार्ग सुधार गर्नु पर्ने देखिन्छ’, पर्यटनविज्ञ एवं हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले भने ।केन्द्रलाई नेपाल पर्यटन बोर्ड ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान), टेम्के मैयुङ गाउँपालिका लगायत संस्थाले सहयोग पुर्याएका छन् ।

यतिबेला केन्द्र पदमार्गको नक्सा, पोष्टर, ब्रोसर र भिडियो निर्माणमा जुटेको छ । ‘हामी मुन्दुम पदमार्गको प्रचारमा केन्द्रसँग हातेमालो गर्दैछौं’, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणी खनालले भने ।  पदमार्गको पूर्वाधार विकास, स्थानीयलाई तालिम दिन र मार्केटिङका लागि केन्द्रले पहल गर्ने जनाएको छ । उसले नेपाली पदयात्रीका लागि प्याकेज बनाइसकेको छ । प्याकेज  मुल्य प्रति व्यक्ति २६ हजार पाँच सय रुपैयाँ पर्छ । त्यसका लागि कम्तिमा ८ जनाको समूह हुनु पर्ने जनाइएको छ ।

प्रकाशित: २३ माघ २०७४ ०२:५६ मंगलबार

पूर्वमा खुल्यो मुन्दुम ट्रेल