अर्थ

कृषक सहजताका लागि गाउँमै पशु स्वास्थ्य शिविर

आठ सय बढी पशुको उपचार

फाइल तस्वीर

जिल्लाकै सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिका १ गुगौली गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विकट गाउँमै कृषकलाई घरदैलोमै सेवा दिन भेटनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले बिहीबार शिविर सम्पन्न गरेको हो।

घरघरमा भैंसीसहित पशुपालन गरिए पनि यो गाउँमा पशु उपचार सेवाका पहुँच भने छैन। डा. परवेज आलम, डा. अखिलेश्वर पाण्डेय, डा. उर्मिला भट्टराईसहितको विज्ञ टोलीले पशुहरूको उपचार गरेका थिए।

शिविरमा जुका, नाम्ले, माटेलगायतका रोगको उपचार गरिएको थियो। शिविरमा एक सय ५५ घरधुरीका साढे आठ सय पशुको उपचार गरिएको थियो। तीन सय भैंसी, साढे चार सय बाख्रा र गाईहरूको उपचार गरी निःशुल्क औषधीसमेत उपलब्ध गराइएको थियो।

‘घरघरमा पशुपालन गरिए पनि गुगेलीमा पशु उपचारमा पहुँच थिएन’, विज्ञ केन्द्रका प्रमुख डा. परवेजले भने, ‘कृषकहरूको सहजताका लागि हामीले गुगोलीमा शिविर गरेका हौं।’

यो विज्ञ केन्द्रको गुगौलीमा दोस्रो पशु शिविर हो। यसअघि तत्कालीन पशु सेवा कार्यालयले २०७१ सालमा गुगौलीमा शिविर गरेको थियो।

शिविरमा बाँझोपन भएका पशुको समेत उपचार गरिएको थियो। विकट गाउँमा घरदैलोमै सेवा पाउँदा गुगौली गाउँका किसान खुसी भएका थिए। उनीहरूले यस्ता शिविर नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गरे।

प्रदेश सरकारले समेत विजयनगर गाउँपालिकामा भैंसी स्रोत केन्द्र सञ्चालनका लागि विशेष कार्यक्रमसमेत सञ्चालन गरेको छ, तर पशुहरूको प्रभावकारी रूपमा उपचार सेवा नहुँदा कृषक समस्यामा पर्ने गरेका छन्।

प्रकाशित: १३ पुस २०८० ०२:०६ शुक्रबार

पशु स्वास्थ्य शिविर आठ सय बढी पशुको उपचार विजयनगर गाउँपालिका