अर्थ

‘खच्चर व्यवसाय’बाट मासिक डेढ लाख आम्दानी

रसुवा – रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ हाकुका सण्डु तामाङले विदेश जानका लागि राहदानी र ५० हजार म्यानपारमा छोड्नु भएको एक वर्ष बित्यो। 

चार वर्षअघि गाउँमा नै खच्चर व्यावसाय सञ्चालन गरेका तामाङलाई विदेश जाने भूत चढेको थियो। त्यो भन्दा पहिले पनि दुई पटकसम्म मलेसिया पुगिसकेका तामाङले तेस्रो पटक विदेश जान एक म्यानपावर कम्पनीमा पासपोर्ट र ५० हजार बुझाएका थिए।

पछिल्लो समय गाउँमा खच्चर व्यावसायबाट मनग्य आम्दानी हुन थालेपछि उनले विदेश जाने सपना देख्न छाडे। उनी व्यवसायमा निकै व्यस्त भए। ‘आम्दानी बढ्दै गएपछि विदेश जान मनै लागेन् उनले नागरिकसँग भने, म्यानपावरमा छाडेको पैसा र पासपोर्ट लिन जान समय नै मिलेको छैन्।’ 

गाउँमा बसेर मासिक डेड लाखसम्म आम्दानी गर्दै आएका उनलाई अहिलेसम्म पनि म्यानपावर जान फुर्सद  मिलेको छैन्। उनले भने, ‘आफूलाई काठमाडौं जान फुर्सद छैन्। अहिले त म्यानपावरले फोन नै उठाउन छाडेको छ। फोन उठायो भने काठमाडौं जान पर्ला।’

तामाङले महिनामा २६ दिनसम्म गाउँमा सामग्री लैजाने गर्छन्। चार वटा खच्चर किनेर व्यावसाय सुरु गरेका तामाङसँग अहिले ८ वटा खच्चर छन्। सय कडा चार ब्याँज तिर्ने सर्तमा गाउँमा नै तीन लाख ६० हजार ऋण खोजेर धादिङबाट ४ वटा खच्चर किनेर व्यावसाय सुरु गरेको उनले सुनाए। 

तामाङका अनुसार उनले सुरुमा ९० हजारको दरले चार वटा खच्चर ल्याएका थिए।  ‘पछि थप्दै जाँदा १३ वटा पुग्यो’, तामाङले भने, पाँच वटा चाहीँ बेचिदिएँ।’ न्युनतम ९० हजारदेखि डेड लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ। खच्चर खरिदका लागि काढेको ऋण तामाङले तिरिसकेका छन्। 

अहिले यो व्यवसायबाट चार सदस्यीय उनको परिवारको जीविकोपार्जन चलिरहेको छ। सदरमुकाम धुन्चेबाट करिब ६ घण्टाको पैदलयात्रा पश्चात हाकु पुग्न सकिन्छ। त्यहाँ करिब नौ सय घरधुरी रहेका छन्। 
निर्माण सामग्री ओसार्न भ्याइ नभ्याइ 

विगत लामो समयदेखि खच्चर व्यावसाय सञ्चालन गर्दै आएका व्यावसायीलाई अहिले निर्माण सामग्री ओसार्न भ्याइ नभ्याइ छ। घर निर्माणका लागि आवश्यक पर्ने बालुवा, सिमेन्ट, गिट्टी लगायतका  सामग्री बोक्नका लागि हाकुका खच्चर व्यावसायी अहिले जिल्ला सदरमुकाम धुन्चे र नुवाकोटको त्रिशुली पुग्ने क्रम बढेको छ। 

हाकुमा केही महिनाअघि अनुदान सम्झौता भएको थियो। अनुदान सम्झौता भएपछि हाकुमा घर निर्माण सुरु भएको छ। घर निर्माण सुरु भएसँगै खच्चर व्यवसायी निर्माण सामग्री ओसार्नमा व्यस्त देखिन्छन्। भूकम्प जानुपुूर्व महिनाको १४ दिन सदरमुकाम आउने गरेका व्यवसायी अहिले महिनाको २६ दिनसम्म सदरमुकाम आउने गरेका छन्। 

सदरमुकामबाट मान्छेले सामग्री बोकर लैजान कठिन हुने भएपछि खच्चरको प्रयोग गरिएको ठूलोहाकुका व्यवसायी लाचेन तामाङले बताए। उनले भने, ‘धुन्चेबाट हाकु पुग्न चार घण्टादेखि ६ घण्टासम्म लाग्छ, मान्छेले सामान बोकेर जान गाह्रो हुन्छ।’ एउटा खच्चरले एक पटकमा ६० किलो सामग्री बोक्ने सक्ने उनले सुनाए। धुन्चेबाट हाकुमा सामग्री पु¥याउनका लागि प्रतिकिलो १३ रुपयाँका दरले ज्याला लिने गरेको व्यवसायी बताउँछन्। 

जिल्लामा दुई सय भन्दा बढी खच्चर

रसुवाको दुई वटा स्थानीय तहमा खच्चरको प्रयोग हुँदै आएको छ। सडकको पहुँच नपुगेको ग्रामिण तहमा करिब दुई सय खच्चरको प्रयोग हुने गरेको व्यावसायीले बताएका छन्। सामग्री आयात तथा निर्यातका लागि हाकुमा ३९ वटा खच्चर रहेको हाकुका खच्चर व्यावसायी निमाकार्साङ तामाङले बताए। उनले भने, ‘हाकुमा ६ जनाले खच्चर पालेका छन्, एउटा व्यावसायीको ४ वटादेखि नौ वटासम्म खच्चर छ।’

पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्डमा सामग्री ढुवानीको लागि खच्चरको प्रयोग हुन्छ। जिल्लामा आवश्यकता अनुसार खच्चर आयात हुने गरेको छ। एउटा खच्चरका लागि ९० हजार रुपयाँसम्म पर्छ। 

 

प्रकाशित: २२ माघ २०७४ १६:०३ सोमबार

खच्चर व्यवसायबाट मासिक डेढ आम्दानी