अर्थ

६ महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकमा १० अर्ब ६३ करोडभन्दा धेरै मूल्यको क्लिंकर आयात भएको छ । रक्सौल भन्सार नाकाबाट क्लिंकर आयातमा भारतले अवरोध गरेको भनिरहँदा यसको आयातमा कमी आएको देखिँदैन।

भन्सार विभागले सार्वजनिक गरेको चालु आव ०७४÷७५ को पहिलो ६ महिनाको तथ्यांकमा एक अर्ब २७ करोड ८६ लाखभन्दा धेरै केजी क्लिंकर आयात भएको उल्लेख छ । जसको मूल्य १० अर्ब ६३ करोडभन्दा धेरै छ । यसबाट राज्यले चार अर्ब ७४ करोड २६ लाख रुपैयाँ राजस्व समेत संकलन गरेको तथ्यांकमा उल्लेख छ।
रक्सौलमा स्थानीय र भारतीय रेल्वेबीच प्रदूषण विवाद भएपछि गत महिना क्लिंकर आयातमा अवरोध सिर्जना भएको थियो । क्लिंकर ओसारपसार गर्दा प्रदूषण भएको भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेलवेले सिधा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर पठाउन भनेको थियो।

भारतबाट क्लिंकर ल्याउन अवरोध भएपछि वीरगन्ज लगायत मुलुकका अन्य ठाउँमा रहेका सिमेन्ट उद्योग बन्द हुन सक्ने भन्दै नेपाली उद्योगीले भने पनि क्लिंकर आयातमा कमी आएको देखिँदैन ।
क्लिंकर आयातमा अवरोध भएको अवसर छोपेर सिमेन्ट व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् । गत आर्थिक वर्षभर २४ अर्ब ९६ करोड रुपैयाँको दुई अर्ब ९३ करोड ९१ लाख केजी क्लिंकर आयात भएको थियो।

क्लिंकर सिमेन्ट उत्पादनमा चाहिने प्रमुख कच्चा पदार्थ हो । प्राकृतिक खानीमा पाइने चुनढुंगालाई क्लिंकर बनाएर सिमेन्ट बनाउन प्रयोग गरिन्छ । देशलाई चाहिने सिमेन्ट स्वदेशमै उत्पादन हुन थाले पनि यसको कच्चा पदार्थ क्लिंकर भने अझै पनि भारतबाट आउने गरेको तथ्यांकले देखाउँछ । व्यवसायीका अनुसार हरेक वर्ष २० देखि २५ प्रतिशत क्लिंकर विदेशबाट आउने गरेको छ।

हाल मुलुकमा ५० हाराहारी सिमेन्ट उद्योग छन् । ती उद्योगले वार्षिक ५० लाख टनभन्दा धेरै सिमेन्ट उत्पादन गरिरहेका छन् । यी उद्योगमध्ये एक दर्जन हाराहारीले मात्र क्लिंकर उत्पादन गरिरहेका छन् । बाँकीमध्ये केहीले देशभित्रै उत्पादन भएको क्लिंकर प्रयोग गर्छन् भने केहीले भारत, दक्षिण अफ्रिका लगायत देशबाट आयात गर्छन्।
देशभित्र प्रशस्त मात्रामा चुनढुंगा खानी रहेको अध्ययनले देखाएको छ । देशका विभिन्न ठाउँमा रहेका चुनढुंगा खानी उपयोग गर्न सके सिमेन्ट निर्यात गर्न सकिने अवस्थामा मुलुक छ।  

बाहिरबाट कच्चा पदार्थको रुपमा क्लिंकर ल्याएर सिमेन्ट बनाउँदा मुलुकमा सिमेन्टको मूल्य बढ्न जान्छ । भारतबाट क्लिंकर ल्याउँदा भन्सार लाग्ने भएकाले नेपाली सिमेन्ट महँगो हुने व्यवसायीको भनाइ छ। मुलुकभित्र सञ्चालनमा रहेका चुनढुंगा खानीसम्म पुग्ने मोटरबाटो राम्रो नहुनु, यातायात सिन्डिकेट र स्थानीय केही समस्याले गर्दा क्लिंकर उत्पादनमा समस्या र सिमेन्ट उत्पादन पनि महँगो भएको व्यवसायी गुनासो गर्छन्।

ठूला परियोजनाका लागि भारतबाट सिमेन्ट आउने गरेको छ । ठूला आयोजना निर्माण गर्न ग्रेडका सिमेन्ट चाहिने भएकाले भारतबाट सिमेन्ट सिमेन्टसमेत आयात हुन्छ।  

विशेष गरी आइबिसी (इन्टरनेसनल बिडिङ कम्पिटिसन) का कारण सिमेन्ट र डन्डी ल्याउँदा भन्सार छुट पाइने भएकाले आयात गरिएको हो । कुनै पनि ठूलो आयोजनालाई कम्पनीहरुले ५३ ग्रेडको सिमेन्ट खोज्ने गरेका छन् । नेपालमा अहिलेसम्म ग्रेडका आधारमा सिमेन्ट उत्पादन हुने गरेको छैन । गुणस्तर तथा नापतौल विभागले नेपाली सिमेन्टलाई पनि ग्रेड अनुसारको मापदण्ड तोक्ने भने पनि अहिलेसम्म लागू गर्न सकेको छैन।

त्यसैगरी, ठूला परियोजनाका लागि भारतबाट सिमेन्ट ल्याउँदा भन्सार छुटको व्यवस्था छ । तिनै परियोजनालाई नेपाली सिमेन्ट प्रयोग गर्दा भने छुट पाउनका लागि निकै झन्टझटिलो व्यवस्थका कारण भारतबाट आउने गरेको छ । नेपालमा अहिले ओपिसी, पिपिसी र पिएससी भनेर तीन किसिमको सिमेन्ट उत्पादन भइरहेको छ।  

प्रकाशित: २१ माघ २०७४ ०३:१२ आइतबार

महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात