अर्थ

चोयाको डोकोमा रायोको साग!

अतिथिलाई उपहार

आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो।

कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उदघोषकले बोलाए।

मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाए।

बागलुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै, सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवर्द्धन भएको भन्दै धेरैले प्रशंसासमेत गरेका छन्।

मायाको चिनो भनेपछि कुनै आयातीत वा सजावटका सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउँदा अतिथि दंग परेको बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले बताए।

‘रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो। औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौं’, नगर प्रमुख श्रेष्ठले भने, ‘स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवर्दधनका लागि यो निकै राम्रो सुरुआत भएको छ। कार्यक्रममा प्रयोग हुनुका साथै स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौं।’ उनका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रूपमा रहेको वडा नं ११ रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो।

रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रूपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बागलुङ ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। साग खाने र डोको सजाएर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उनको भनाइ थियो।

‘यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ। स्थानीय बजारका साथै पोखरासम्म पुग्ने गरेको पाएका छौं। सुरुमा सहकारीमार्फत सागको बजारीकरण गर्न बानी बसालेका थियौं। अहिले कृषक आफैं बजारमा साग पु¥याउनुहुन्छ’, गौतमले भने, ‘बागलुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशील पत्रकारलाई मायाको चिनो दिँदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षासहित १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिएका हौं।’

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर छ। यहाँका किसानले तीन महिनादेखि दैनिक एक जिप साग मात्रै बागलुङ बजार पठाउँदै आएको स्थानीय हिराबहादुर थापाले बताए।

यहाँका बालिका, रुद्रबहादुर, दलबहादुर, चन्द्रबहादुर, तिलमाया र टीकाबहादुर थापाले वार्षिक दुई लाख रुपैयाँसम्म सागबाटै कमाउने गरी पाखोबारीभरि खेती गर्दै आएका उनले बताए।

‘एक वर्षमा रायोको साग मात्रै बिक्री गरेर एकजना किसानले तीन लाखसम्म कमाएको तथ्यांक छ। बजारमा मूल्य भने स्थिर छैन। अहिले धारापानीबाट एउटा जिपभरि साग मात्रै बजार जान्छ। कहिले धेरै कहिले थोरै मूल्य पर्छ। न्यूनतम २० रुपैयाँमा एक मुठो बिक्री हुन्छ।

व्यापारीले यहाँको साग पोखरा पठाएको पाएका छौं’, किसान थापाले भने, ‘यहाँको कालो माटोमा रायोको साग निकै झांगिन्छ। एकपटक कसैले यहाँको साग खाएमा अर्कोपटक माग आइहाल्छ। हामीले माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो।’ बजारका तीन पसलमा रायोको साग पाइन्छ भनेर बजारवासीलाई अवगत भइसकेको भन्दै रायाडाँडाको साग ‘ब्रान्ड’ बन्दै गएको उनले बताए।

रायडाँडा बसाइँ सराइको चपेटामा रहे पनि धारापानी भने बगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ। यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन्।

–रासस

प्रकाशित: ९ पुस २०८० ०७:०५ सोमबार

बालमैत्री शुभारम्भ कार्यक्रम रायडाँडा बागलुङ