अर्थ

फुकेट-काठमाडौं चार्टर उडानमार्फत पर्यटक आउने

थाइल्यान्डको पर्यटकीय केन्द्र फुकेटबाट काठमाडौंसम्मको चार्टर्ड उडानमार्फत पर्यटक आउने भएका छन्।

चार्टर उडान रुप्से होलिडेजले गर्ने भएको हो। कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार इतिहासमै पहिलो पटक काठमाडैंदेखि फुकेटसम्म सोझो चार्टर उडान हुनेछ। रुप्से होलिडेजले पर्यटकलाई सोझो र सुविधाजनक उडानका लागि सस्तो भाडादर उपलब्ध गराएको बताएको छ।

प्रबन्ध निर्देशक पराजुलीका अनुसार जम्मा ३५ हजार नेपाली रूपैंया एकतर्फी भाडादर तोकेर गरिने यो उडानमा हिमालय एअरलाइन्सको एअरबस ए ३२० प्रयोग गरिनेछ। आगामी जनवरी २१ मा काठमाडौंबाट जम्मा ३ घण्टा १० मिनेटको चार्टर्ड उडान थाइल्यान्डको फुकेटसम्मका लागि हुनेछ।

प्रबन्ध निर्देशक पराजुली भन्छन्, ‘यो इतिहासमै पहिलो पल्ट भइरहेको छ, हामीले काठमाडौंबाट सोझो ननस्टप उडान भरेर फुकेट अवतरण गर्नेछौं । यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पु¥याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौं।’

उनले थपे, ‘एसियाको पर्यटकीय केन्द्रको रूपमा रहेको फुकेटकमा बर्सेनि करोडौं पर्यटक आउँछन्, जसको एक प्रतिशतभन्दा कम पर्यटक मात्र नेपाल ल्याउन सकियो भने ठूलो उपलब्धि हुनेछ। जुन कुरा संभव छ भनेर यो चार्टर्ड उडानमार्फत प्रमाणित गर्नेछौं।’

प्रकाशित: ८ पुस २०८० ०४:०९ आइतबार

थाइल्यान्डको पर्यटकीय केन्द्र फुकेट प्रबन्ध निर्देशक रमेश पराजुली