अर्थ

जाउँ है पोखरा अभियान: पश्चिम नेपालका पाहुनालाई पोखराको निम्तो

पश्चिम नेपालमा चलाईएको जाउँ है पोखरा अभियान। तस्बिरः नागरिक

पश्चिम नेपालका आन्तरिक पाहुनालाई घुम्न आउन भन्दै पोखराले निम्ता गरेको छ। ‘जाउँ है पोखरा’ अभियानका क्रममा पोखराले पश्चिम नेपालका विभिन्न सहरमा पुगेर पाहुनालाई पोखरा घुम्न बोलाएको हो।  

पोखराका होटल व्यावसायीको छाता संस्था होटल संघ पोखराले विभिन्न प्याकेज पनि यही अवसरमा सार्वजनिक गरेको छ। पोखरामा बढी भन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य सहित प्रवद्र्धन अभियान चलाएको संघले यही अभियानका कारण पोखरामा आन्तरिक पाहुनाको आगमन बढाएको बताएको छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘पोखरामा आन्तरिक पाहुनाको आकार बढाउन मूख्य भूमिका जाउँ है पोखरा अभियानले खेलेको छ। त्यसैले संघले वर्षेनी यो कार्यक्रम संचालन गर्दै आएको छ। ठाउँठाउँका पाहुनालाई पोखरा घुम्न बोलाउनेगरि हामी आफै ती सहरमा जान्छौं।’ यो पटक मंसिर २९ देखि सुरु भएको अभियान पश्चिम नेपालका विभिन्न भेगमा संचालन गरिएको उनले बताए। ‘उत्साहप्रद रुपमा संघले यो पटकको अभियान चलाएको छ। आगामि दिनमा पोखरामा पश्चिम नेपालका आन्तरिक पाहुनाको आकार झनै बढ्नेछ,’ उनले भने।  

अध्यक्ष सुवेदीका अनुसार यो पटकको अभियान अन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन तथा स्थानीय व्यावसायीसँग अन्तरक्रिया र भेटघाटका कार्यक्रम आयोजना गरिएको थियो। ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यावसायी सहभागि थिए। ‘स्थानीय व्यावसायी मार्फत आन्तरिक पाहुनालाई पोखरा घुम्न पठाउनु भन्ने सन्देश दिएका छौं। पोखरा घुम्नका लागि स्थानीय व्यावसायीले प्रोत्साहन गर्नेछन,’ उनले भने।  

संघले द्वन्द्वको बेला पारेर झन्डै अढाईदशक अघि जाउँ है पोखरा अभियान सुरु गरेको थियो। अभियान सुरु गर्दा पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब ५ प्रतिशत थियो। द्वन्द्वका कारण विदेशी पाहुना आउन नपाएको बेला आन्तरिक पाहुनालाई बोलाएर व्यावसाय धान्ने योजना अनुरुप संघले जाउँ है पोखरा अभियान चलाएको थियो।

 नेपालका विभिन्न सहरमा पुगेर आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाएर संचालन गरिएको अभियान प्रभावकारी बन्ने क्रममा पोखरामा आन्तरिक पाहुनाको हिस्सा बढेर ३५ प्रतिशतसम्म पुगेको अध्यक्ष सुवेदीले बताए। ‘यो आकार अझै बढ्नुपर्ने हो। तर, बीचबीचमा केही अप्ठेरा पनि आए। जसले गर्दा पाहुनाहरु निर्धक्क घुम्न निस्कने अवस्था रहेन,’ उनले भने, ‘अहिले भने पोखरामा घुम्न आउने पाहुनामध्ये करिब ३५ प्रतिशत आन्तरिक हुने गरेका छन्। यो आकार आगामि दिनमा अझै बढ्ने अपेक्षा छ।’  

संघको अगुवाइमा चलाइएको अभियानमा होटल व्यावसायी, पर्यटन बोर्ड सँगै अरु पर्यटन व्यावसायीका छाता संस्थाका प्रतिनिधि पनि सहभागि थिए। सुवेदीले पश्चिम नेपालका बासिन्दालाई पोखरा भ्रमणको निम्ता गरेको र पोखराका पाहुनालाई पनि पश्चिम क्षेत्र घुम्न पठाउने गरि बाचा गरेको बताए। ‘पश्चिम नेपालका पर्यटकीय सहरमा पोखरा क्षेत्रका पाहुनालाई घुम्न पठाउनेछौ। पश्चिम नेपालका पाहुनालाई पोखरा बोलाएका छौं,’ उनले भने, ‘पाहुना आदानप्रदान गर्ने गरि अभियान चलाएका छौ।’  

अभियानकै क्रममा पर्यटकको आउजाउमा सहजीकरण गर्नेगरि हवाई र स्थल यातायातको प्रभावकारिता बारे पनि व्यावसायीसँग छलफल गरेको आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। ‘पर्यटक हिडडुलमा केही असहजता छन्। ती असहजतालाई कसरी सहजीकरण गर्ने भनेर पनि हामीले व्यावसायीसँग छलफल चलाएका छौ। पर्यटकलाई घुम्न बोलाउने मात्र नभई यो अभियानले घुमघामलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि व्यावसायीसँग छलफल गरेका छौ,’ श्रेष्ठले भने, ‘सिमा नाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यवहोर्नुपर्ने अवस्था छ। यो अवस्था अन्त्य गर्नका लागि सहजीकरण गर्न पनि स्थानीय व्यावसायीको भूमिका हुन्छ। त्यसमा सहजीकरण गर्नका लागि पनि यो अभियानले सघाएको छ।’  

त्यस्तै पोखरालाई पश्चिम नेपालका नेपालगञ्ज, धनगढीसम्म नियमित हवाई सेवाले जोड्नेबारे पनि व्यावसायीसँग छलफल गरेको संघका महासचिव राजेन्द्र ढकालले बताए। अहिले पोखरा र भैरहवा नियमित हवाई सेवा संचालनमा छ। तर, नेपालगञ्ज र धनगढीमा नियमित हुन सकेको छैन। पोखरा–नेपालगञ्ज सातामा तीनवटा उडान छन्। तर, पोखरा–धनगढी भने उडान नियमित हुन सकेको छैन। पोखरा–धनगढी सिधा हवाई सेवा सुरु भएपनि रोकिएको थियो । त्यसलाई निरन्तरता दिनेबारे पनि व्यावसायी मिलेर अघि बढ्ने गरि यो अभियान सफल भएको ढकालले बताए।  

प्रकाशित: ७ पुस २०८० ०९:४८ शनिबार

जाउँ है पोखरा अभियान