अर्थ

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

काठमाडौं – बुद्ध एयरले खराब मौसम र यात्रुको सुरक्षाका लागि सोमबार उडानहरु रद्ध गरेको स्पष्ट पारेको छ।
मौसमका कारण काठमाडौं–विराटनगर–काठमाडौं उडान रद्ध हुँदा यात्रु असन्तुष्ट भएपछि बुद्ध एयरको कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्धारित उडान रद्ध गर्नु बाध्यता भएको र सुरक्षा चासो बुझिदिन यात्रुलाई आग्रह गरेको छ।

हिउँदमा बाक्लो हुस्सु कुहिरोले भिजिबिलिटी कम हुँदा अप्रत्याशित रुपमा विमानस्थल नै बन्द हुँदा आकस्मिक रुपमा उडान रद्ध गर्नुपर्ने बाध्यता आफूहरुलाई रहेको कम्पनीको भनाई छ।  

सोमबार विराटनगर विमानस्थलमा २००० मिटरको मात्र भिजिबिलिटी रहेको जानकारी गराउँदै बुद्ध एयरले त्यसैकारण सुरक्षालाई मध्यनजर गर्दै निर्धारित काठमाडौं–विराटनगर–काठमाण्डौका सबै उडानहरु रद्द गरिएको स्पष्ट पारेको छ।

‘वैकल्पिक विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थल हुस्सुको कारणले बन्द थियो भने नेपालगन्ज दिउँसो ३ बजेबाट रनवे मर्मत सम्भारका कारण सञ्चालनमा आएको थिएन,’ बुद्ध एयरले भनेको छ– ‘सुरक्षित उडानका लागि वैकल्पिक एयरपोर्ट नहुँदा उडान रद्ध गर्नुपर्यो।’

प्रकाशित: १६ माघ २०७४ १४:१४ मंगलबार

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर