अर्थ

ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन आग्रह

ग्यास प्रयोगमा विभिन्न दुर्घटना हुँदा मानवीय क्षति हुने गरेकाले ग्यास सुरक्षामा ध्यान दिन एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्। ग्यास प्रयोगमा सचेतना जगाउन आग्रह गरे।

कार्यक्रममा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे। जनचेतना जगाउन सरकार र व्यवसायीले संयुक्त अभियान चलाउनुपर्ने बताए। ग्यास उद्योगीको उपभोक्ताप्रति दायित्व रहेकाले सचेतना आवश्यक रहेको बताए। अर्यालले उपभोक्ता सचेतना अभिवृद्धि गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताए। अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने धारणा राखे। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दवाडीले निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे। उनले उपभोक्ताको हित संरक्षण गर्न र उपभोक्ता सचेतना बढाउन सरकार प्रतिबद्ध रहेको बताए।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन सहजीकरण गर्न आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान गर्न ब्याजदरलाई एकल अङ्कमा सीमित गर्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घ, वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको उल्लेख गर्दै सरकारको समेत प्रयासबाट अर्थतन्त्र सहज हुँदै जाने विश्वास व्यक्त गरे। 

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले गर्ने कूल कारोबारको २० प्रतिशत हिस्सा एलपी ग्यासको रहेको जानकारी दिँदै ग्यासमा स्वचालित मूल्य कायम गर्न नसक्दा मासिक  एक अर्ब नोक्सानी व्यहोर्दै आएको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष एवं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए।

ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले ग्यास कारोबारलाई व्यवस्थित गर्न सरकारको सहयोग आवश्यक रहेको बताए। उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ग्यासको प्रयोगबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगमा निजी क्षत्रको ३० अर्ब लगानी रहेको जानकारी दिए।

विसं २०२८ मा पहिलो पटक बालाजुमा नेपाल ग्यास स्थापना भएपछि नेपालमा ग्यासको कारोबार सुरु भएको थियो। हाल देशभर ५८ वटा ग्यास उद्योग छन्। कार्यक्रममा निगमका पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद थानीलाई सम्मान गरिएको थियो।

प्रकाशित: ६ पुस २०८० १३:०८ शुक्रबार

ग्यास सिलिन्डर