अर्थ

डेढ वर्षभित्र शतप्रतिशत जनतामा विद्युत पुग्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्।

सुनसरीस्थित इनरूवा सबस्टेशनको शुक्रवार उद्घाटन गर्दै उनले सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताए।

उनले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ। घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्।’

प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए।  

उनले देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धि सम्बन्धी कार्य योजना मन्त्रिपरिषद्बाट पारित गरेको स्पष्ट पारे। यसले विद्युत् खपत बढाउनका लागि ठुलो दिशानिर्देश गरेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँ गाउँमा पुर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए।

उनले भने, ‘वर्षको वर्षा याममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो। नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठुलो फाइदा पुग्नेछ। यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ।’

प्रकाशित: ६ पुस २०८० ०६:२१ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल देश विद्युतीकरण इनरूवा सबस्टेशन सुनौलो दिन नेपाल विद्युत प्राधिकरण