अर्थ

विशाखापट्नममा हजारभन्दा बढी नेपाली कन्टेनर

विशाखापट्नम भएर नेपाल आएका कन्टेनर खाली भई फर्किने तयारीमा वीरगन्ज सुक्खा बन्दरगाहमा । तस्बिर : रितेश /नागरिक


बीरगन्ज – नेपालका लागि विभिन्न मुलुकबाट मालसमान बोकेर आएका हजारभन्दा बढी कन्टेनर भारतको आन्ध्रप्रदेश प्रान्तको विशाखापटनमस्थित बन्दरगाहको विशाखा टर्मिनल्समा अलमलिएका छन् । कोलकता बन्दरगाह भएर नेपालको तेस्रो मुलुकसँगको व्यापारमा भीडभाड (कन्जेसन), ट्रान्सपोर्टहरुको झन्झट र अनेक खाले अवरोध दोहोरिन थालेपछि विकल्पमा चालु आर्थिक वर्षदेखि प्रयोगमा ल्याइएको विशाखापट्नम पनि फापेन ।

खासगरी तेस्रो मुलुकसँगको नेपाली व्यापारमा सहजीकरण गर्ने भारतस्थित नेपाली सरकारी संयन्त्रको ढिलासुस्तीले लामो प्रतीक्षापछि प्राप्त विशाखापट्नम बन्दरगाहबाट सोचेजस्तो लाभ नेपाली पक्षलाई प्राप्त हुन सकेको छैन । टर्मिनल्सको रेकर्ड अनुसार विशाखापट्नममा अहिले साढे ११ सयभन्दा बढी (२० फिट एकाइमा) कन्टेनर अलमलिएका छन् । ‘नेपालका लागि मर्कसलाइन सिपिङ कम्पनीका नौ सय आठ र अन्य कम्पनीका करिब चार सय कन्टेनर आएका छन्,’ आधिकारिक स्रोतले भन्यो, ‘यसमध्ये दुई र्याक अर्थात एक सय ८० कन्टेनर त्यहाँबाट हिँडिसकेका छन्, अर्को एक र्याक (९० कन्टेनर) त्यहाँबाट हिँड्ने तयारीमा छन् । बाँकी अड्किएका छन् ।’

भारतमा नेपाली कार्गो ह्यान्डिल गर्ने क्लियरिङ एजेन्टका अनुसार भारतस्थित नेपाली राजदूतावासले कागजी औपचारिकता लम्ब्याएपछि कन्टेनर अलमलिएका हुन् । करिब पाँच सय कन्टेनर दिल्लीस्थित नेपाली दूतावासबाट कागजात नआएर अड्किएका छन् । यसमा मर्कसलाइनका मात्र चार सय ६७ कन्टेनर छन् । अर्को करिब साढे दुई सय कन्टेनर प्रतितपत्र (एलसी) यकिन हुन बाँकी भएर र ‘टिटी’ (टेलिग्राफिक ट्रान्सफर) अर्थात विद्युतीय सञ्चारमार्फत दिइने भुक्तानी पत्र नपुगेपछि रोकिएका हुन् । करिब पाँच दर्जन कन्टेनर ‘मिसम्याच’ अर्थात बेमेल विवरणका कारण रोकिएका हुन् ।

कागजात बेलैमा सम्बन्धित ठाउँमा पु¥याउनेमा दूतावासको कमजोरी देखिन्छ भने एलसी र टिटी समस्या बैंकले गर्दा भइरहेकाले यसमा राष्ट्र बंैक जिम्मेवार हुनुपर्ने आयातकर्ता बताउँछन् । त्यस्तै बेमेल विवरणको समस्या नेपाली आयातकर्ता र विदेशी निर्यातकर्ताबीच सौदामा भएको कमजोरीले देखिएको हो । ‘मैले यसबारे सिपिङ कम्पनीसँग कुरा गरेको थिएँ, उनीहरुको भनाइ के छ भने कागजात बेलैमा पुग्न सकिरहेको छैन,’ नेपाल उद्योग वाणिज्य संघका सदस्य अशोक टेमानीले भने, ‘यो समस्या किन हुँदैछ भने भारतस्थित नेपाली महावाणिज्यदूतावासको एकाइ विशाखापट्नममा छैन, दिल्लीस्थित नेपाली दूतावासले नै यसलाई हेर्ने गरेको छ, यसका लागि अलग्गै डेस्क पनि राखिएको छैन, यसरी एउटा कागजात त्यहाँ पुगेर पुनः बन्दरगाहसम्म आइपुग्न निकै समय लाग्ने गरेको छ ।’

नेपाल सरकारले अविलम्ब विशाखापट्नममा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको एउटा एकाइ विस्तार गर्नुपर्ने व्यापारीको सुझाव छ । ‘विशाखापट्नम भएर अहिलेसम्म २२ ¥याक (एक हजार नौ सय ८० कन्टेनर) वीरगन्ज आएका छन्, अरु तीन ¥याक अहिले बाटोमा छन्,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘अहिले त्यहाँ कन्टेनर किन अलमलिए भन्नेबारे हामीलाई जानकारी छैन ।’ प्रक्रियागत औपचारिकता पूरा गर्न समय लागेको हुन सक्ने उनको अनुमान छ ।


 

प्रकाशित: १६ माघ २०७४ ०३:०९ मंगलबार

विशाखापट्नममा हजारभन्दा बढी नेपाली कन्टेनर