वीरगन्ज – सीमावर्ती क्षेत्रमा मरिचको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दाको सन्जाल यतिखेर मौलाएको छ । कुनै बेला नेपाललाई चाहिनेभन्दा बढी सुपारी आयात गरी भारततर्फ अवैध निकासी गर्ने सन्जाल अब मरिच तस्करीतिर मोडिएको छ । अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कालोबारी पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ ।
मरिचको अवैध कारोबार बढेकै कारण यसको आयातमा पनि अप्रत्यासित किसिमले भारी वृद्धि भएको छ । वीरगन्जस्थित दुईवटा भन्सार नाकाको तथ्यांकले यहाँ भएर २०७४ वैशाखदेखि पुससम्मको नौ महिनामा पोहोरको यसै अवधिको तुलनामा सवा चार गुणा बढी ‘कालो मरिच’ आयात भएको देखाएको छ । यी दुवै भन्सार नाका गरेर पोहोर वैशाखदेखि पुससम्म ११ लाख ४२ हजार सात सय ५६ किलो मरिच आयात भएको थियो भने यसपटक सोही अवधिमा ४८ लाख ५३ हजार दुई सय २८ किलो मरिच आयात भएको छ । यसपालि आयात भएको मरिच पोहोरको तुलनामा ४२४.६९ प्रतिशत अर्थात ३२४.६९ प्रतिशत बढी हो ।
मुख्य रुपमा खाने मसलाको रुपमा प्रयोग गरिने दैनिक उपभोग्य वस्तु हो मरिच । यस्ता वस्तुको माग र आपूर्तिमा भाउ र खपतको सन्तुलनअनुसार १० देखि २० प्रतिशत घटबढ सामान्य मानिन्छ । यसपालि भने मरिच आयातमा असमान्य वृद्धि देखिएको हो । ‘भारतको मसला बजारमा अहिले मरिचको मूल्य उच्च छ, घरेलु कृषि उत्पादनको बजारलाई बढावा दिन भारत सरकारले बाहिरबाट मसला आयात गर्दा त्यसमा लाग्ने करको उच्च राख्ने गरेको छ,’ सीमावर्ती भारतीय बजार रक्सोलका एकजना व्यपारीले भने, ‘नेपालमा विदेशबाट आउने मरिचको मूल्य सस्तो पर्ने भएपछि स्थानीय बजारका लागि ल्याउने भन्दा यहाँबाट विभिन्न सहरमा पठाउनका लागि अहिले सीमावर्ती क्षेत्रमा यसको कारोबार बढेको हो ।’
नेपालमा तेस्रो मुलुकबाट आयातित मरिचको भाउ भारतीय मरिचको तुलनामा प्रतिकिलो तीन देखि चार सय रुपैयाँँ कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात पनि बढेको हो । नेपालमा तेस्रो मुलुकबाट आयात हुने मरिच बजारमा प्रतिकिलो साढे सात सयदेखि आठ सय रुपैयाँँको भाउमा उपलब्ध छ । त्यही मरिच सीमापारी भारतमा एक हजारदेखि एक हजार दुई सय रुपैयाँ (नेपाली) प्रतिकिलोको भाउमा किनबेच भइरहेको छ । सीमापारी लगिएको मरिचको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ । मरिचको भाउमा रहेको अन्तर यसको कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो ।
एक क्विन्टल मरिच वारीबाट पारी पु¥याउदा ३० देखि ४० हजार रुपैयाँ नाफा आउने गरेको छ । त्यसका कारोबारीले भरिया र दुवैतिरका सीमावर्ती सुरक्षा इकाइहरुका लागि खर्च छुट्याउँदा पनि क्विन्टलमा २० देखि २५ हजार रुपैयाँ नाफा यसमा आउने भएपछि त्यसमा साझेदार रहेका दुवै तस्करका लागि पिरो मरिच गुलियो भएको छ । भारतीय कारोबारीले मरिचको भुक्तानी नेपाली पक्षलाई गर्दा भारतीय रुपैयाँमा गर्ने गरेका छन् । भारतीय मुद्रा किनबेच अहिले सीमावर्ती क्षेत्रमा ‘सोक्कड’ (नाफा सुनिश्चित भएको) कारोबारको रुपमा परिचित छ ।
भारतीय रुपैयाँको कालोबजारी गर्ने गिरोहले प्रतिसय भारतीय मुद्रामा साढे दुई प्रतिशत (नेपाली चार रुपैयाँ) दिएर हाथोहात किन्ने गरेका छन् । उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेच्ने गरेका छन् । भारतीय मुद्राको उपलब्धता भने सीमावर्ती क्षेत्रमा सधैं अपुग रहने भएपछि मरिच तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्राको कालोबजारीले सहजै ठाउँ बनाउन पाएको जानकारहरुको विश्लेषण छ । मरिचको तस्करीसँगै भारतीय मुद्राको कालाबजारीको यो धन्दाले तीव्रता पाएको छ ।
सुक्खा बन्दरगाह र वीरगन्ज भन्सार भएर भियतनाम, श्रीलंका, इन्डोनेशिया, ब्राजिल, साउदी अरेयिबा, थाइल्यान्ड, मलेसिया र अमेरिकाबाट मरिच आयात भएको अभिलेख छ । ‘सबभन्दा बढी भियतनामबाट आउने हो, मरिच त्यसबाहेक अरु देशबाट पनि आउने गरेको छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेबन्तक पोखरेलले भने, ‘वैध आयात जोकोहीले पनि गर्न पाइहाल्यो, नेपाल भित्रिएपछि कहाँ खपत हुँदैछ हामीसँग जानकारी हुँदैन ।’
वीरगन्ज भन्सार भएर यो वर्ष वैशाखदेखि पुससम्म ३१ लाख ८९ हजार पाँच सय ९३ किलो मरिच आएको छ भने पोहोर यसै अवधिमा सात लाख ९२ हजार नौ सय ३१ किलो मरिचमात्र भित्रिएको थियो । त्यस्तै यो वर्ष सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट १६ लाख ६३ हजार ६ सय ३५ किलो मरिच यसपालि उक्त अवधिमा आयात भएको छ भने पोहोर त्यहाँबाट त्यसै अवधिमा तीन लाख ४९ हजार आठ सय २५ किलो मरिचमात्र आएको थियो ।
‘मरिच सीमावर्ती क्षेत्रमा लगेर लुकीचोरी भारततिर निकासी भइरहेको हामीलाई सूचना आइरहेको थियो, त्यसकारण हामीले निगरानी बढाएका छौं,’ नेपाल प्रहरी नायब उपरीक्षक भुबनेश्वर साहले भने, ‘अवैधरुपमा भारत लैजाँदै गरेको दुई सय बोरा कालो मरिचसहित दुईवटा पिकअप भ्यान र त्यसका दुईजना चालकलाई हामीले बुधबार बाराको आदर्श कोतवाल गाउँपालिकास्थित हुलाकी सडकबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएका छौं ।’ साह बारा प्रहरी कार्यालयका प्रवक्ता हुन् । यता पर्सामा भने प्रहरीले मरिच तस्करीमा कडाइ गरेको दाबी गरेको छ ।
‘मरिच गइरहेको सुनेपछि हामीले कडाइ गरेका छौं, लुकीचोरी छिटफुट गएको छ भने भन्न सकिन्न,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने, ‘त्यस्तै छिटफुटमा १०–१० किलोको पोकामा साइकलमा लैजादै गरेको ४० किलो मरिच समातिएको पनि छ, समात्ने प्रहरी हवल्दार पुरस्कृत पनि भएको छ ।’
पर्सा, बारा र रौतहटका ग्रामीण नाका यतिखेर ‘मरिच मार्ग’ बनेका छन् । मोतिहारी, बेंतियाँ, मुज्फरपुर, हाजिपुर र पटनाजस्तो ठाउँमा उच्च माग रहेको व्यापारी बताउँछन् । स्रोतका अनुसार खासगरी मुजप्फरपुरसम्म मरिच पु¥याइएपछि त्यस अगाडिको किनबेच असहज छैन । पश्चिम बंगालको कोलकता बजारसँग सिधा सम्पर्क भएको मुजप्फरपुरबाट यताको मरिचलाई ‘भारतीय’ भनेर अरु सहरमा पुर्याउन सहज छ । यसरी यतिखेर ‘बहुराष्ट्रस्तरीय मरिच तस्करी सन्जाल’ खडा हुन भएको व्यापार बताउँछन् ।
प्रकाशित: १५ माघ २०७४ ०१:५५ सोमबार