अर्थ

भूकम्प पीडितलाई चीनको सोलार सहयोग

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भूकम्प प्रभावित क्षेत्रका ३२ हजार स्थानीयलाई निःशुल्क सौर्य ऊर्जा प्रदान गर्ने भएको छ। केन्द्रले चीन सरकारको सहयोगमा ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र तीन सय २५ सेट सौर्य टुकी वितरण गर्न लागेको हो।

नेपाल र चीन सरकारबीच सम्झौता भएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रम अन्तर्गत सोलार वितरण गर्न लागिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रवक्ता नवराज ढकालले बताए। ‘स्थानीय तहमार्फत प्रभावित परिवारमा सोलार टुकी वितरण गर्न लागेका छौंं,’ ढकालले भने, ‘अहिलेसम्म सौर्य प्रणालीमा अनुदान नलिएका पीडित प्राथमिकतामा छन्।’

अहिलेसम्म विद्युतीकरण नभएका स्थानलाई विशेष प्राथमिकता दिएको केन्द्रले जनाएको छ। वितरण गर्न सम्बन्धित जिल्लाका स्थानीय तहलाई जिम्मा लगाउने केन्द्रको योजना छ।

चीन सरकारले सोलार उपकरण नै अनुदानमा काठमाडौं पठाएको छ। राजधानीबाट जिल्लासम्म ढुवानीको व्यवस्था भने सम्बन्धित जिल्लाका स्थानीय तहले गर्नु पर्नेछ। ‘सोलार सेट भने आफैं ढुवानी खर्च बेहोरेर लैजानु पर्नेछ,’ ढकालले भने, ‘पूर्ण निःशुल्क भएकाले स्थानीय सरकारले ढुवानीमा योगदान गर्नुप¥यो।’ इच्छुक जिल्लाका नगरपालिका र गाउँपालिकाको लागि सूचना पठाइसकेको ढकालले बताए। ‘सम्बन्धित जिल्लाका इच्छुक स्थानीय तहले आवेदन गर्न सक्छन्,’ उनले भने, ‘त्यसकै आधारमा वितरण गरिन्छ।’

साना सौर्य ऊर्जा नुवाकोटमा पाँच हजार, सिन्धुलीमा दुई हजार, रामेछापमा दुई हजार, सिन्धुपाल्चोकमा सात हजार, दोलखामा पाँच हजार, गोरखामा पाँच हजार, काभ्रेमा पाँच हजार, लमजुङमा एक हजार सेट वितरण गरिने छ। पीडितले पाउने सोलार १० वाटको छ। ‘एक सेटबाट तीन वाटको बत्ती र मोबाइल चार्ज गर्न सकिन्छ,’ प्रवक्ता ढकालले भने, ‘विद्युत् सेवा उपभोग गर्न नपाएका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्य हो।’

संस्थागत सौर्य ऊर्जा प्रणाली अन्तर्गत नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, गोरखा र लमजुङमा ३०–३० सेट, रसुवा र ललिलपुरमा १५–१५ सेट, भक्तपुरमा १० सेट, ओखलढुंगा २० सेट र काभ्रेमा ३५ वितरण गरिने छ। संस्थागत सोलार सार्वजनिक शिक्षण संस्था, गाउँपालिका, स्वास्थ्य केन्द्र, उप–स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, सामुदायिक अस्पताललाई लक्षित छ। १२ सय वाट क्षमताको संस्थागत सोलारमा विद्युतीय उपकरण चलाउन सकिनेछ।

केन्द्रले २०७२ मा भूकम्प गएको केही समयमा पाँच हजार सोलार टुकी निःशुल्क वितरण गरेको थियो। त्यसपछि बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)को सहयोगमा एक लाख ४८ हजार आठ सय घर परिवारलाई सोलार टुकी र २४ हजार चुलो वितरण गरिएको थियो।

प्रकाशित: १४ माघ २०७४ १२:२४ आइतबार

भूकम्प पीडितलाई चीनको सोलार