अर्थ

तीन वर्षमा ४ पाँच तारे र १६ चार तारे होटेल सञ्चालनमा

फाइल तस्बिर

मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा आएका छन्। अर्बौँ लगानीमा पछिल्लो तीन वर्षमा चार पाँच चारे होटेल निर्माण भएका छन्। त्यसै अवधिमा १६ वटा चार तारे होटेलहरू पनि सञ्चालनमा आएका छन्।

कोभिड महामारी मत्थर भएसँगै मुलुकमा तारे होटलहरु खुल्न थालेका हुन्। मुलुकमा विदेशी पर्यटकहरू आउने क्रम बढ्दै गएका बेला काठमाडौँ मात्र नभएर काठमाडौँ बाहिर पनि तारे होटलहरु सञ्चालन तथा निमार्ण भइरहेका छन्। 

पर्यटन विभागको तथ्याङ्क अनुसार २०७८ साल यता ४ वटा पाँच तारे होटेल सञ्चालनमा आएका हुन्। जसमा बिर्तामोडको होटेल द किङ्सबरी, ताचहलको हायात प्लेस, सिमराको इच्छा होटेल र लाजिम्पाटको होटेल ल्हासा इन्टरनेशनल सञ्चालनमा आइसकेका छन्। विभागका अनुसार २०७८ सालपछि मात्र १६ वटा चार तारे होटेल सञ्चालनमा आएका छन्।

नेपालगन्जको होटेल स्टारलाई, नेपालगन्जकै कल्पतरू होटेल, भैरहवाको मौर्य होटेल, पोखराको होटेल माउन्ट कैलाश, बाँकेको होटेल सिटी प्यालेस, चितवनको होटेल सिराइचुली, वीरगन्जको हिमाल वाटर पार्क एन्ड भिलेज, पोखराको हेरिटेज होटेल, मोरङको विग होटेल र रत्ना होटेल, वीरगन्जको होटेल दियालो, काठमाडौँको ठमेल प्लाजा होटेल, नवलपरासीको होटेल ओरियन, रुपन्देहीको एसियन होटेल, सिन्धुपाल्चोकको होटेल भोटेकोसी र पोखराको रोम रेजेन्सी होटेल पछिल्लो तिन वर्ष यता सञ्चालनमा आएका चार तारे होटेलहरू हुन्। त्यसमा  एउटा मात्र चार चारे होटेल काठमाडौँ सञ्चालनमा आएको छ। बाँकी १५ वटा चार तारे होटेलहरू भने सबै काठमाडौँ बाहिर छन्।

सामान्य होटेलमा भौतिक सेवा तथा सुविधा, गुणस्तरीय खाना, सफा कोठा, पार्किङ क्षमता लगायत अन्य सुविधा हुनुपर्ने मापदण्ड छ। यस्तै चार तारे वा सोभन्दा माथिल्लो स्तरको होटेलमा भने मौलिक नेपाली खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्छ। साथै चार तारे भन्दा माथिल्ला स्तरका होटेलमा अनिवार्य स्विमिङ पुल अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र सवारीसाधन पार्किङको क्षमता तोकिएको छ। काठमाडौँ उपत्यकाभित्र एकतारेमा २० वटा, दुई तारेमा ४०, तीन तारेमा ६०, चार तारेमा ८०, पाँचतारेमा सय वटा र पाँचतारे डिलक्स होटेलमा एक सय पचास वटा कोठा हुनुपर्ने प्रावधान छ।

होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले सरकारका नीति व्यवसायमुखी नहुँदा पनि निजी क्षेत्रको प्रयासले होटेल क्षेत्र विस्तार भइरहेको अवस्थामा अझ व्यवस्थित र उदार नीति भएको अवस्थामा होटेल क्षेत्रको झन् राम्रो भएर जाने बताए। पछिल्लो समयमा भारत र चीन बाहेक अमेरिकन, रसिया तथा युरोपियन मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि क्रमिक रूपमा बढिरहेको छ।  ‘होटेल व्यवसायीहरूलाई सर्भाइभ गर्न त्यति गाह्रो छैन। युरोपियन र अमेरिकन पर्यटक नआए पनि हामी इन्डिया र चाइनाको बिचमा छौ। दुवै देशबाट हाम्रो पर्यटनको लागि भविष्यमा हाम्रो मुलुकमा बलियो सम्भावना छ,’ उनले भने,‘ पर्यटन प्रवर्द्धन र विकासको सम्भावनामा हाल हवाई कनेक्टिभिटी र बाटोहरूको व्यवस्था सरल र सहज भए तारे होटलहरु मज्जाले सर्भाइभ हुनेछ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पनि होटेल व्यवसायमा उत्साहित भएका छन्। 

प्रकाशित: ४ पुस २०८० ०९:०८ बुधबार

२० तारे होटेल १६ चार तारे होटेल