अर्थ

चिनियाँ इन्टरनेटबाट फाइदा लिन व्यापकताको खाँचो

काठमाडौं – भारततर्फको निर्भता तोड्दै चीनसँग जोडिएको नयाँ इन्टरनेट कनेक्टिभिटीबाट उपभोक्ताले फाइदा लिन अझै केही समय लाग्ने भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको व्यावसायिक सम्झौताले भविष्यको इन्टरनेट सेवामा सकारात्मक प्रभाव पर्ने सम्बिन्धत विज्ञहरूको भनाइ छ।

नेपाल टेलिकमले चीनसँग जोडेको नयाँ कनेक्टिभिटीले मुलुकमा सञ्चालन भएको इन्टरनेटको बजार बढ्ने, गुणस्तरमा सुधार हुने र मूल्यमा कमी आउने आम उपभोक्ताले अपेक्षा गरेका छन् । उपभोक्ताको अपेक्षा अनुसार तत्कालको लागि मुलुकको इन्टरनेट गुणस्तर र मूल्यमा भने खासै फरक पर्ने छैन । मुलुकमा इन्टरनेटको वैकल्पिक मार्गका रुपमा नेपाल

टेलिकम र चाइना टेलिकम ग्लोबलबीच गएको पुस २८ गते व्यावसायिक सम्झौता भएको थियो।
‘अहिले नै उपभोक्तामा ठूलो प्रभाव पार्ने स्थिति छैन,’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले नागरिकसँग भनिन्, ‘चीनसँगको कनेक्टिभिटीले नेपालको लागि वैकल्पिक मार्ग खोलेको छ ।’ यसले मुलुकको इन्टरनेट बजारलाई थप सुरक्षित पारेको उनको बुझाइ छ ।  चाइना टेलिकमसँग जोडिएको नयाँ कनेक्टिभिटीको क्षमता १.५ जिबिपिएस (गिगाबाइट प्रतिसेकेन्ड) को मात्र हो।

सानो क्षमतामा भए पनि नयाँ रुट प्रयोग सुरु भइसकेको छ । भर्खर सुरु भएकाले यसको क्षमता वृद्धि, गुणस्तर, मूल्य लगायत विषयमा अनुभवका आधारमा भन्न सकिने टेलिकमका अधिकारीहरूको भनाइ छ।

‘उक्त रुटको गुणस्तर, मूल्य लगायत विषय भविष्यको अनुभवले देखाउने कुरा हो,’ टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले भने, ‘हालको लागि यो नयाँ मार्ग थपिएको हो ।’ यसले मुुलुकको इन्टरनेट सेवामा नयाँ प्रदायक थपेको छ । यसले विश्वसनीयता र वैकल्पिक मार्ग भने प्रशस्त गरेको उनको बुझाइ छ।

यस रुटमा अझ थुप्रै काम गर्नुपर्ने आवश्यकता छ । अधिकारी उदाहरण दिँदै भन्छन्, ‘अहिले हामीले चीनसँग जोडेको कनेक्टिभिटी भनेको एक लेनको बाटो जस्तै हो । अब यसलाई ६ वा आठ लेनको बनाउन आवश्यक छ ।’ क्षमता वृद्धि र यसले सिधै ग्राहकलाई फाइदा पुग्ने गरी काम गर्न आवश्यक छ।

नेपाल टेलिकमले जोडेको नयाँ रुटलाई निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीले तत्काल प्रयोग गर्न पाउने छैनन् । नेपाल टेलिकमले भविष्यमा निजी क्षेत्रलाई समेत यो सेवा दिन सक्ने सोच बनाए पनि तत्कालको लागि त्यो सम्भव नभएको टेलिकम अधिकारीहरूको भनाइ छ।  

‘चाइना टेलिकमले निजी क्षेत्रलाई आफ्नो सेवा नदिने भएकाले यसले अहिले नै नेपाली उपभोक्तामा ठूलो परिवर्तन हुने देखिँदैन,’ नेपाल इन्टरनेट सेवा प्रदायक संस्थाका पूर्वअध्यक्ष सुमनलाल प्रधानले भने, ‘मूल्य, गुणस्तर, सेवा लगायत विषय नेपाल टेलिकममै निर्भर रहने छ।’

प्रधान तत्कालका लागि खासै परिवर्तन नदेखिए पनि यसले मुलुकको इन्टरनेट सेवामा दूरगामी परिवर्तन भने ल्याउन सक्ने बताउँछन् । पहिलो त भारतमाथिको निर्भरता तोडेको छ,’ प्रधानले भने, ‘इन्टरनेट प्रदायक थपिएपछि खरिद मूल्यमा प्रतिस्पर्धा हुन सक्छ।’  

चीन आफ्नो मार्ग प्रयोग गर्दा भारतको भन्दा सस्तो शुल्क लियो भने नेपाल टेलिकमले सस्तो मूल्यमा अरुलाई सेवा दिन सक्ने प्रधानको भनाइ छ । जसले गर्दा चीनको इन्टरनेट प्रयोगकर्ता बढ्ने अथवा भारत हुँदै आएको इन्टरनेटको शुल्क घट्न सक्ने भएमा मात्र उपभोक्तामा तात्विक फरक आउनेछ।

हाल टेलिकमसहित निजी क्षेत्रले भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग इन्टरनेट सेवा खरिद गरिरहेका छन् । भारत हुँदै प्रयोग गरिएको रुटबाहेक अन्तर्राष्ट्रिय अन्तरआबद्धताका रसुवागढी हुँदै चीनतिरको मार्ग अर्को महŒवपूर्ण र समानान्तर विकल्पको रुपमा हेरिएको छ।  

चीनसँगको इन्टरनेट सम्झौता इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा भएको र चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने विश्वास लिएको छ।

चीनसँगको कनेक्टिभिटीमार्फत टेलिकमका सेवाको उपलब्धता र विश्वसनीयतामा अझै अभिवृद्धि हुने अपेक्षा गरेको छ । नेपाल टेलिकमले चीनसँगको मार्गमा थप क्षमता थप्ने, आफ्नो सेवा विस्तार गर्ने, नयाँ ग्राहक थप्दै जाने हो भने चीनसँगको इन्टरनेट फलदायक हुने सरोकारवालाको भनाइ छ । इन्टनेट बजारलाई अझ व्यापक बनाउने र बजार प्रतिस्पर्धी बनाउन चीनतर्फको मार्गलाई महत्वका साथ राख्ने र ब्यान्डविथ थप्दै जान आवश्यक छ । यसले इन्टरनेटको गुणस्तरसँगै मूल्य सस्तो पर्न सक्ने अपेक्षा गरिएको छ।   

प्रकाशित: १४ माघ २०७४ ०४:४३ आइतबार

चिनियाँ इन्टरनेटबाट फाइदा लिन व्यापकताको खाँचो