अर्थ

बर्दिवासमा प्रथम व्यापार महोत्सव हुने

महोत्तरी – महोत्तरीको बर्दिवासमा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ आयोजना हुन गईरहेको छ।

बर्दिवासलाई ब्यापारिक क्षेत्र बनाउन र यहाँका व्यवसाय प्रवर्द्धनको लागि बर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा प्रथम बर्दिवास औद्योगिक, कृषि पर्यटन तथा पहिचान व्यापार महोत्सव २०७४ हुन लागेको हो।

बर्दिवास उवासंघले शनिबार आफ्नै सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्तरी जिल्लामै पहिलोपटक बर्दिवासमा यस्तो महोत्सव हुन गईरहेको जानकारी गराएको छ।

महोत्सव २०७४ फाल्गुन १६ गते देखि २६ गते एघार दिन सम्म चल्ने बर्दिवास उवासंघका महासचिव भवनाथ खतिवडाले बताएको छ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नेपालकै ठूलो बाल उद्यान, २४ सिटे रोटे पिङ्ग, डबल टेकेर मारुती सर्कस, चिडिया घर, जादु सर्कस, व्रेक डान्स, रेल, ड्रायगन, बर्दिवास डान्स आईडल, व्यवसायिक स्टल र चिठा कार्यक्रमहरु समावेश गरिएको महासचिव खतिवडाले बताएको छ।

महोत्सव हेर्न आउनेले निःशुल्क प्रवेश पाउने र चिठा कार्यक्रममा सहभागी हुन चाहे न्युन्तम शुल्कसहितको चिठा कार्यक्रममा सहभागी हुन पाउने छन् ।

महोत्सव अवधिभरी विक्री भएको चिठाको परिणाम अन्तिम दिनमा सार्वजनिक गरेर विजयी हुनेलाई एक थान मोटरसाइकल उपहार प्रदान गर्ने कार्यक्रम छ।

महोत्सवमा ख्याती प्राप्त कलाकार विल्सन विक्रम राई, जितु नेपाद, शिव परियार, प्रमोद खरेल, कमल क्षेत्री, बद्रि पंगेनी, हेमन्त शर्मा, पशुपति शर्मा, शिव हमाल, राधिका गुरुङ्ग, विजय लामा, जोगिन्द्र पानवाला, मुलाको साग, रिता केसी, टिका प्रसाद, पार्वती राई, दावा लामा, गुल्मी ब्याण्ड लगायत दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रकाशित: १३ माघ २०७४ ११:४८ शनिबार

बर्दिवासमा प्रथम व्यापार महोत्सव हुने