अर्थ

प्याराग्लाइडिङ विवाद: सिजनको बेला उडान रोकिँदा पर्यटन क्षेत्र प्रभावित

पोखराको आकाशमा भएको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको महत्वपूर्ण पर्यटकीय प्रडक्ट मानिएको प्याराग्लाइडिङको उडान विगत एकसातादेखि रोकिएको छ। प्याराग्लाइडिङ व्यावसायी सहित छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विभिन्न चरणमा वार्ता भएपनि अझै निष्कर्ष निस्किन सकेको छैन। विवादले गर्दा अहिले उडान ठप्प छन्।  

व्यावसायी र पाइलट तथा छाता संस्थाबीच विवाद बढेको भन्दै नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि पोखरा क्षेत्रभित्रका सबैखाले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। विवादका बीच उडान गर्दा जोखिम हुने प्राधिकरणको ठहर छ। विवाद समाधान नभएसम्म उडान रोकिने प्राधिकरणले बताएको छ।

बेलैमा विवाद समाधान नभए नजिकिँदो क्रिसमस र अंग्रेजी नयाँवर्षको बेला पारेर पोखरा भित्रिने पाहुनाले प्याराग्लाइडिङ उड्न नपाउने चिन्ता अरु पर्यटन व्यावसायीको छ। यो बेला मौसम सफा रहेको र पाहुना भित्रिने बेला परेकोले जतिसक्दो छिटो विवाद समाधान गरेर उडान थाल्नुपर्ने अरु व्यावसायीको भनाई छ। सिजनको बेला उडान रोकिँदा पर्यटन क्षेत्र प्रभावित भएको व्यावसायीको गुनासो छ। आएका पाहुना उड्न नपाई फर्केको उनीहरुले बताएका छन्।

व्यावसायीका अनुसार अहिले प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा सम्बन्धित कम्पनिलाई स्वतन्त्र रुपमा व्यावसाय गर्न दिने भन्ने विवाद छ। छाता संस्थाभित्रका केही व्यावसायीले एकद्वार प्रणालि लागु गर्न नमिल्ने बताईरहेका छन्। व्यावसायीको विरोधपछि छाता संस्था ना ले विगत डेढ वर्षदेखि लागु गरेको एकद्वार प्रणालि हटाउने घोषणा गरेको थियो। तर, पाइलटहरु भने ना ले लागु गर्दै आएको एकद्वार प्रणालि नै ठिक रहेकोले यथावत राख्नुपर्ने बताउँदै आएका छन्। एकद्वार प्रणालि नै लागु गर्नुपर्ने माग सहित पाइलटले उडान रोकेका छन्।  

ना का सल्लाहकार तथा प्याराग्लाइडिङ व्यावसायी शैलेन्द्र रावतका अनुसार अहिले पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङ नियन्त्रित क्षेत्रभित्र उड्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १० नटिकल माइलभित्र उड्ने भएकोले प्याराग्लाइडिङ उडानमा मनपरि गर्न पाइदैन। तोकिएको उचाई र परिधिभित्र रहेर मात्र उड्नुपर्छ। नियन्त्रित आकाशमा उड्नुपर्ने भएकोले ना ले लागु गरेको एकद्वार प्रणालि नै उपयुक्त हुने रावतको भनाई छ। तर, १० नटिकल माइल बाहिर जाने हो भने स्वतन्त्र रुपमा व्यावसायीलाई नै सबै अधिकार दिनुपर्ने उनले बताए।  

‘१० नटिकल माइल भित्र उड्नुपर्ने हुँदा नियन्त्रित तरिकाले उडान संचालन गर्नुपर्छ। तर, १० नटिकल माइल भन्दा बाहिर गएर अन्यत्र उडान गर्ने हो भने व्यावसायीलाई नै स्वतन्त्र छाडिदिनुपर्छ,’ उनले भने, ‘नियन्त्रित आकाशभित्र उड्नुपर्ने भएकोले छाता संस्थाको निगरानी जरुरी छ। किनकी तोकिएको क्षेत्रभित्र मनलाग्दी तरिकाले उड्न पाइदैन।’

छाता संस्थाले लागु गरेको एकद्वार प्रणालिप्रति असन्तुष्ट व्यावसायीले आफैले आफ्नो उडानको मूल्य तोक्न पाउनुपर्ने, आफ्नो बुकिङमा रहेका पाहुनालाई आफैले उडाउन पाउनुपर्ने, व्यवस्थापन पनि आफैले गर्न पाउनुपर्ने बताउँदै आएका छन्। तर, छाता संस्थाको एकद्वार प्रणालि लागु हुँदा आलोपालो प्रणालि अनुसार उडान गर्नुपर्ने बाध्यता थियो। छाता संस्थाले नै तोकेको शुल्क पनि लिनुपर्ने बाध्यकारी कम्पनिलाई हुन्छ। नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटबाट भईरहेको प्याराग्लाइडिङ उडानलाई केही टाढाको मान्द्रेढुंगा सारेको थियो। तर, केही समय अघि मात्र तोरीपानीबाट उडान गर्न अधिकार दिएको थियो। सराङकोटको आकाशमा भने अहिले पनि उड्न रोकावट छ।

छाता संस्था ना का कार्यवाहक अध्यक्ष अनिल केसी पोखराको प्याराग्लाइडिङ तोकिएको आकाशमा मात्र उड्न पाउने भएकोले खुला छाड्न नचाहेको बताउँछन्। तर केही व्यावसायीले आफु अनुकुल व्यावसाय गर्न पाउनुपर्ने माग गरेपछि छाता संस्थाले त्यो अधिकार सम्बन्धित व्यावसायीलाई नै दिएको पनि उनले बताए। ‘हामी व्यावसायीको हित विरुद्ध जान खोजेका होइनौ। व्यावसायीलाई नै अधिकार दिएका हौ, तर, पाइलटहरुले भने त्यो कुरा मानेनन र उडान रोके,’ केसीले भने।

केसीका अनुसार छाता संस्थाकै एकद्वार प्रणालि लागु गर्न खोज्ने केही व्यावसायीको चाहना छ भने कतिपयले त्यसलाई मानेका छैनन। पाइलटले पनि एकद्वार प्रणालि नै उपयुक्त भनेका छन्। ‘राम्रोसँग चलिरहेको व्यावसायमा कोरोना संक्रमण, अन्तर्राष्ट्रिय विमानस्थलको रोकावट, मान्द्रेढुंगामा स्थानान्तरण, कोरोनाका कारण पाइलट बिस्थापित जस्ता समस्या थपिँदै जाँदा अहिलेको समस्या निम्तिएको हो,’ उनले भने, ‘यी समस्या नपरेको भए हिजोका झैं संचालन गर्दा केही समस्या थिएन। तर, यी समस्याबाट पार पाउन छाता संस्थाले एकीकृत गरेर एकद्वार प्रणालि लागु गरेको हो। त्यसमा केही व्यावसायी असन्तुष्ट बनेका हुन्।’ अप्ठेरो परेको बेला र विभिन्न मापदण्ड लागु हुँदाको समयमा सबै व्यावसायी एकजुट भएपनि अहिले त्यसलाई निरन्तरता दिन व्यावसायीले नचाहेको उनले बताए।  

अहिलेको विवाद समाधानका लागि पाइलट, असन्तुष्ट व्यवासायी र छाता संस्थाबीच वार्ता भईरहेको पनि उनले बताए । व्यावसायीको हातमा व्यावसाय दिँदा पाइलटले पारिश्रमिक नपाउने, सुरक्षामा खेलाँची हुने, व्यवस्थापन सहज नहुने चिन्ता पाइलटको रहेको उनले बताए। ‘क्रिसमस र अंग्रेजी न्यू इयरका कारण पोखरा अबका केहीदिन चलायमान बन्छ। त्यो बेला उडान गर्न सकेनौ भने राम्रो सन्देश जाँदैन, सकेसम्म समाधानको पहल भईरहेको छ,’ केसीले भने, ‘सुरक्षाको विषयमा हेलचेक्रयाँई गर्न मिल्दैन।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भने प्याराग्लाइडिङ उडानबारे सन्देश गलत गएको बताउँछन्। व्यवासायीसँग छलफल गरेर समस्या समाधान गर्ने प्रयास भईरहेको उनले बताए। ‘सिजनको बेलाको उडान रोकेर गलत सन्देश प्रवाह गर्न मिल्दैन। विवाद समाधानका लागि पहल भईरहेको छ,’ श्रेष्ठले भने। उनले पनि स्वतन्त्र र स्वच्छ रुपमा जो कोही व्यावसायीले व्यावसाय गर्न पाउनुपर्ने बताए। ‘स्वच्छ प्रतिश्पर्धा गरेर व्यावसाय गर्न दिनुपर्छ। उड्न चाहेर आएका पाहुना उड्न नपाई फर्किनु भएन,’ उनले भने।

प्रकाशित: ३ पुस २०८० १०:३६ मंगलबार

प्याराग्लाइडिङ विवाद पोखरा