अर्थ

दिक्तेल–चखेवा सडक कालोपत्रेले गति लिँदै

मध्यहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेका लागि पर्खाल हालिँदै । तस्बिर -दमन राई/नागरिक

खोटाङ –मध्यहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । लोकमार्गकै बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडकको तुलनामा दिक्तेल–चखेवा भञ्ज्याङ ४६ किलोमिटर सडक कालोपत्रेका काम अघि बढेको पाइएको छ ।

आर्थिक वर्ष ०७१÷७२ मा टेन्डर भएपछि ०७५ लभित्र कालोपत्रेको काम पूरा गर्नेगरी ठेकेदार कम्पनी गोल्डेन गुड–रमन जेभीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको काम गरिरहेको छ । सो सडक खण्डको कालोपत्रेको काम चार खण्डमा विभाजन गरेर दुई वर्षअघिदेखि भइरहेको छ । हाल सडक फराकिलो पार्ने, ग्राभेल वाल हाल्ने, नाली निर्माण गर्ने, गिटीढुंगा फोर्ने लगायत काम भइरहेको ठेकेदार कम्पनीका साइड इन्चार्ज आङसांगे शेर्पाले बताए ।

शेर्पाका अनुसार दिक्तेल–कालीखोला र कालीखोला–दोर्पाचिउरीडाँडा खण्डको ४० प्रतिशत, दोर्पाचिउरीडाँडा–निर्मलीडाँडा खण्डको काम २० प्रतिशत र निर्मलीडाँडा–च्यानडाँडा खण्डको काम करिब १० प्रतिशत पूरा भएको छ । मुआब्जाको माग गर्दै स्थानीयको अवरोध आएपछि केही समय रोकिएको काम सर्वदलीय बैठकले मुआब्जाका लागि भौतिक योजना तथा व्यवस्था मन्त्रालयसमक्ष माग गर्ने निर्णय गरेर सुचारु गराइएको हो ।

हाल सडकका विभिन्न खण्डमा धमाधम काम भइरहेको भए पनि दिक्तेल–कालीखोला खण्डको म्याद गत कात्तिकमै सकिसकेको छ । दिक्तेल र चखेवा सडक खण्डमा पर्ने कालीखोला, पंखुखोला, लप्सेखोला लगायतमा पुल निर्माणको काम पनि भइरहेको छ । दुईवटा पुल आगामी माघसम्ममा पूरा हुने र दुईवटा पुल वर्षदिनमा पूरा हुनेगरी टेन्डर भएको सडक आयोजनाले जनाएको छ । सडक कालोपत्रेका काम धमाधम सुरु भएपछि स्थानीयले गाउँमै रोजगारीको अवसर पाएका छन् ।


 

प्रकाशित: १२ माघ २०७४ ०१:१९ शुक्रबार

दिक्तेल–चखेवा सडक कालोपत्रेले गति लिँदै