अर्थ

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ताङतिङ– ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे ट्रेलको अबधारणा अघि बढाएको छ। 

उसले माघ पहिलो साता त्यसको संभाव्यता अध्ययन गरेको हो। भिटोफका सह कोषाध्यक्ष कृष्णबहादुर सुवेदीको नेतृत्वको टोलीले ताङतिङ, करापु टप र याङ्जाकोट अन्वेषण गरेको छ ।

‘हामी छुट्टाछुट्टै होमस्टे गाउँहरुको प्रवद्र्धन गर्दै आएका थियौं’, संयोजक सुवेदीले भने, ‘यसपाली होमस्टे गाउँहरुलाई आपसमा जोडेर पर्यटकलाई फरक स्वाद दिन होमस्टे ट्रेलका रुपमा ब्राण्डिङ गरेका हौं।’

तीन राते प्याकेजमा होमस्टे ट्रेल घुम्न सकिन्छ। पोखराबाट बसमा गएर पहिलो बास ताङतिङ (१,६५७मिटर), दोस्रो बास करापु डाँडा (२,०७७ मिटर) र तेस्रो बास याङ्जाकोट (१,४७७ मिटर)मा बस्न सकिन्छ ।

ताङतिङबाट करापु पुग्न ६ घन्टा उकालो चढ्नु पर्छ भने करापुबाट याङ्जाकोट ओर्लन ५ घन्टा लाग्छ। 

‘दुबै गाउँमा होमस्टेको रिफ्रेसमेन्ट तालिम जरुरी देखियो । ठाउँ ठाउँमा पदमार्ग सुधार गर्नु पर्ने छ’, सुवेदी भन्छन्, ‘गाउँलेहरुलाई तालिम दिन हामी सहजीकरण गर्छौं । पदमार्ग सुधारचाहिँ स्थानीय गाउँपालिकाले गर्नु पर्छ ।’

ताङतिङ र याङ्जाकोट दुबै गुरुङ बस्ती हुन् । होमस्टे ट्रेलमा हिमाली सौन्दर्य, गुरुङ जीवनशैली र जैविक विविधताको स्वाद पाइन्छ। गाउँबाट अन्नपूर्ण, लमजुङ र माछापुच्छ्रे हिमाल झलमल्ल देखिन्छ।

दुबै गाउँमा होमस्टे र होटल सुविधा छ । ताङतिङका १३ घरमा होमस्टे गराइन्छ भने याङ्जाकोटका ८ घरमा । गाउँलेहरु पाहुनाको माग अनुसार साँझ सामुदायिक भवनमा पाहुनालाई साँस्कृतिक नाचहरु घाटु, सोरठी र कृष्णचरित्र देखाउँछन्।

नेपाल पर्यटन बोर्डसँग र स्थानीय होमस्टे व्यवस्थापन समितिसँगको साझेदारीमा भिटोफले होमस्टे ट्रेलको विकासमा काम गर्ने भएको छ।

‘अतिथि सत्कारको मिठो शैलीका कारण ताङतिङ र याङ्जाकोट लोकप्रिय बन्दै गएका हुन्’, भिटोफ पोखरा शाखाका संस्थापक अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘हामी यी दुबै गाउँको निरन्तर प्रवद्र्धन गर्नेछौं।’

पोखरा नजिकका गन्तव्य भएकाले दुबै गाउँ पर्यटकको रोजाईमा पर्दै गएका छन् । पोखरा–याङ्जाकोट २३ किमि छ भने पोखरा–ताङतिङ २७ किमि । पोखराको काहुँखोलाबाट दुबतिर सार्बजनिक बस चल्छन्। 

प्रकाशित: ११ माघ २०७४ ११:५० बिहीबार

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण