अर्थ

ग्लोबल बैंकका अध्यक्ष ढकालद्वारा शपथ ग्रहण

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

समारोहमा अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको बताए। ग्लोबल आइएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्‍याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्‍याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए।

प्रकाशित: २ पुस २०८० ०१:२९ सोमबार

ग्लोबल आइएमई बैंक पद तथा गोपनीयताको शपथ चन्द्रप्रसाद ढकाल