अर्थ

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

काठमाडौं – नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ। खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए। 

भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने दूतावासले सो भवन २ महिनाअघि संस्थानलाई हस्तान्तरण गरिसकेको छ । सो भवन रु ५ करोडको लागतमा निर्माण गरिएको हो। 

हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग एक्लैले गर्दै आएको छ । खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी र अन्य खाद्य सामग्री परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले बताए। 

मेसिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापन कार्य बाँकी नै रहेको छ र उक्त व्यवस्था यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उनकोे भनाइ छ । आपूर्ति मन्त्रालयको नीति र निर्देशनअनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुनेछ। 

संस्थानले यसवर्ष २ लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य लिएको छ । हालसम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको कार्यालयले जनाएको छ । यसवर्ष जापानबाट ५१ हजार क्विन्टल चामल प्राप्त हुने र दुर्गम तथा अत्यावश्यक स्थानमा पठाउने योजना संस्थानले गरिरहेको सापकोटाको भनाइ छ। (रासस)

प्रकाशित: १० माघ २०७४ १०:०० बुधबार

खाद्यान्नको गुणस्तर परीक्षण गरिने