अर्थ

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुर्‍याएकै हो त?

जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकोमा चिन्ता व्यक्त गरेका छन्।

गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र चितवनको इच्छाकामना ३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन संकटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन्।

त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले विश्वभरका साहसिक जलयात्र पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको त्रिशूली नदी र्‍याफ्टिङ लागि उत्कृष्ट केन्द्र रहेको यस क्षेत्रमा हाइड्रोपावर निर्माणले र्‍याफ्टिङ व्यवसाय संकटमा पर्ने जानकारी दिए।

जलयात्रा व्यवसायी तथा श्रमिकले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीका रूपमा पुज्ने गरिएको उनको भनाइ छ।

संयोजक आलेले भने, ‘त्रिशूली नदी विश्वभरका साहसिक जलयात्रा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ, जलयात्रा व्यवसायी र श्रमिकहरूले त्रिशूली नदीलाई साहसिक जलयात्राको मातृ नदीका रूपमा पुज्ने गरेका छन्।’ तीन हजारभन्दा धेरै श्रमिकको रोजगारी गुम्ने खतरा रहेको उनको भनाइ छ।

त्रिशूली बचाउ अभियानले शनिबार चितवनको इच्छाकामना ३ फिस्लिङबाट गोरखाको गण्डकी १ बुट्टारस्थित हाइड्रो पावरको ड्यामसम्म र्‍याफ्टिङ र राजमार्गमा र्‍यालीसमेत निकालेको थियो।

वातावरणीय प्रभाव मूल्यांकनले समेत सो क्षेत्रमा हाइड्रोपावर निर्माण गर्दा वातावरण र पर्यटकीय गतिविधिमा समेत असर पर्ने देखाएको भन्दै उक्त कार्य रोक्नुपर्ने पर्यटन व्यवसायीको माग छ।

कार्यक्रममा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारीले हाइड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने बताए।

यस त्रिशूली नदीलाई साहसिक जलयात्राको विश्वविद्यालयका रूपमा लिएको बताए। यहाँ र्‍याफ्टिङको तालिम लिएर विश्वरभर जुनसुकै देशमा गएर पनि नेपालीले काम गर्न सक्ने उनको भनाइ छ।

नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौंको रोजगारी गुम्ने र व्यवसायीको लगानी डुब्ने जलयात्रा पर्यटन व्यवसायीको भनाइ छ।

 त्रिशूली सरकारले र्‍याफ्टिङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो।  

–रासस

प्रकाशित: १ पुस २०८० ०६:०२ आइतबार

त्रिशूली नदी जलयात्रा पर्यटन हाइड्रोपावर