अर्थ

सेवाग्राहीका घरमा बिरुवा रोप्दै जीवन विकास

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सदस्यकाे करेसाबारीमा बिरुवा रोप्दै। तस्बिर : नागरिक

लघुवित्त वित्तीय संस्था जीवन विकासले सेवाग्राहीका घरमा बिरुवा रोप्ने अभियान सञ्चालनमा ल्याएको छ। सेवाग्राहीका घरमा बच्चा जन्मिए वा परिवारका सदस्य दिवंगत भए जीवन विकासले एउटा बिरुवा रोप्ने अभियान सञ्चालनमा ल्याएको हो।

संस्थाका सदस्यलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले घरमा दुईवटा बोटबिरुवा रोप्ने अभियान ल्याएको जीवन विकासले जनाएको छ। जन्म र मृत्युमा बिरुवा रोपिदिने अभियानअन्तर्गत तीन वर्षमा संस्थाले तीन हजार तीन सय १६ सदस्यका घरमा पुगेर ६ हजार ६ सय ३२ वटा फलफूलका बिरुवा रोपेको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए।

संस्थाका कर्मचारीमार्फत सुत्केरीलाई चाहिने पोषक खानेकुरा, साबुन, तेल, पाउडरका साथै शिशुका लागि लुगाका साथै एक हजार रुपैयाँ सहयोग गर्दै आएको छ। संस्थामा आबद्ध सदस्यका घरमा जन्ममा खुसी र मृत्युमा समवेदना प्रकट गर्न कर्मचारी बिरुवा बोकेर पुग्ने गरेका छन्। यस संस्थाका एक सय ६० शाखा रहेका छन्।

मण्डलले सुखदुःखमा संस्था साथमा रहेको आभास दिलाउनका लागि यो अभियान तीन वर्षदेखि सञ्चालन गर्दै आएको बताए। उनले भने, ‘रोपिएका बिरुवाले परिवारको भावनासँग जोड्छ। उत्पादन भए सिजनमा फलफूल खान र वरिपरिको वातावरण स्वच्छ बोटबिरुवाले राख्न सघाउँछ।’

उनका अनुसार संस्थाका सदस्य सुत्केरी हुँदा दुईवटा बच्चासम्मलाई सुत्केरी सुविधा दिइन्छ। नर्मल डेलिभरी भए एक हजार र शल्यक्रिया गरे दुई हजार रुपैयाँका साथै आवश्यक सामग्री दिँदै आएको छ। यसैगरी सदस्य वा सदस्यका पति दिवंगत भए संस्थाले १० हजार रुपैयाँ किरिया खर्च  दिने गरेको छ।

प्रकाशित: ३० मंसिर २०८० १४:२४ शनिबार

जीवन विकास वित्तीय संस्था बिरुवा रोप्ने अभियान