यस वर्षको शरद ऋतुमा सरकारले हिमाल आरोहीबाट सात करोड बढी रकम संकलन गरेको छ। पर्यटन विभागको तथ्यांक अनुसार हिमाल आरोहणको लागि ७६ देशका अरोहीबाट अनुमति दस्तुरबापत सात करोड ६७ लाख रूपैयाँ संकलन गरेको हो।
विभागको तथ्यांक अनुसार ५२ वटा हिमालमध्ये सबैभन्दा बढी अनुमति दस्तुर मनास्लु हिमालबाट संकलन भएको छ। यस हिमालबाट शरद ऋतुमा ३ करोड ४० लाख रूपैयाँ संकलन भएको छ।
मनास्लु हिमाल आरोहणका लागि कुल तीन सय एक आरोहीले विभागबाट अनुमति लिएकोमा दुई सय ३७ जना पुरूष र २६ जना महिला रहेका छन्। मनास्लु आठ हजार एक सय ६३ मिटर उचाइ भएको विश्वको आठौं अग्लो हिमाल हो।
यस्तैगरी अमादब्लम हिमाल आरोहणका लागि चार सय ९२ जनाले अनुमति लिँदा सरकारले अनुमति दस्तुर बापत दुई करोड ६१ लाख रूपैयाँ संकलन गरेको छ।
विभागको तथ्यांक अनुसार अमादब्लम हिमाल अरोहणका लागि यस ऋतुमा ४५ समूहमा चार सय १२ पुरूष र ८० महिलाले अनुमति लिएका छन्। अमादब्लम कोसी प्रदेशको पूर्वी हिमालय शृंखलामा अवस्थित हिमाल हो। यसको उचाइ ६ हजार आठ सय १४ मिटर छ।
अनुमति दस्तुरका दृष्टिबाट तेस्रो स्थानमा हिमलुङ, चौथो स्थानमा धौलागिरि र पाँचौं स्थानमा पुथा हिमाल रहेका छन्।
हिमलुङ हिमालबाट यस ऋतुमा सरकारले ४१ लाख ५० हजार रूपैयाँ संकलन गरेको छ। अन्नपूर्ण शृंखलाको उत्तरपूर्वमा पर्ने हिमलुङ हिमाल सात हजार एक सय २६ मिटर अग्लो छ।
नेपाल र तिब्बतको सिमानामा पर्ने हिमलुङ हिमाल अन्य हिमालहरू भन्दा फरक र प्राविधिक दृष्टिबाट सजिलो मानिन्छ। कुल १५ समूहबाट एक सय २५ जनाले यस ऋतुमा हिमलुङ हिमाल आरोहणका लागि अनुमति लिएका छन्। जसमा ९५ जना पुरूष र ३० जना महिला आरोही रहेका छन्।
विश्वको सातौं अग्लो हिमाल धौलागिरि अनुमति शुल्क धेरै संकलन गर्ने चौथो हिमाल हो। धौलागिरि हिमालबाट यस वर्षको शरद ऋतुमा २७ लाख ४३ हजार रूपैयाँ दस्तुर बापत संकलन भएको छ।
धौलागिरि हिमालमा चार समूहका जम्मा २३ जनाले हिमाल आरोहणको अनुमति लिएका छन्। जसमा १२ पुरूष र ११ महिला आरोही रहेका छन्। धौलागिरि हिमाल आठ हजार एक सय ६७ मिटर अग्लो छ।
यस्तै १० लाख ९४ हजार रूपैयाँ दस्तुर संकलन गर्दै पुथा हिउचुली पाँचौं स्थानमा रहेको छ । पाँच समूहका ३३ जनाले पुथा हिउँचुली आरोहणको लागि सरकारलाई अनुमति दस्तुर तिरेका छन्। जसमा २४ पुरूष र पाँच महिला छन्। पुथा हिउँचुली धौलागिरि शृंखलाको एक हिस्सा हो। धौलागिरि दोस्रो शृंखलाको पश्चिम छेउमा अवस्थित यो हिमालको उचाइ सात हजार दुई सय ४६ मिटर छ।
बसन्त ऋतुपछि सबैभन्दा धेरै हिमाल आरोहण शरद ऋतुमा हुन्छ। शरद ऋतुका असोज, कात्तिक र मंसिर महिनामा यस पटक जम्मा एक हजार तीन सय २९ जनाले ५२ हिमाल आरोहणका लागि विभागबाट अनुमति लिएका छन्।
विभागको तथ्यांक अनुसार कुल एक सय ७२ समूहका एक हजार तीन सय २९ जनाले ५२ वटा हिमाल आरोहण गर्न यस पटक विभागबाट अनुमति लिएका छन्। जसमा एक हजार ६९ जना पुरूष र दुई सय ६० महिला रहेका छन्। उनीहरूबाट सरकारले हिमाल आरोहण शुल्कबापत ५९ हजार तीन सय ६४ अमेरिकी डलर संकलन गरेको हो।
आरोहण अनुमति लिने आरोहीमध्ये अमेरिकाका सबैभन्दा धेरै रहेका छन्। यस पटक एक सय ३० जना अमेरिकीहरूले आरोहण अनुमति लिएका छन्। अमेरिकापछि फ्रान्स दोस्रो स्थानमा रहेको छ।
फ्रान्सबाट एक सय २९ जनाले यस ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। फ्रान्सपछि क्रमशः जर्मनी, बेलायत र चीन रहेका छन्। जर्मनबाट ९६, बेलायतबाट ९२ र चीनका ७९ जना आरोहीले विभिन्न हिमालका लागि विभागबाट अनुमति लिएका छन्।
पर्यटन विभागले ऋतु र हिमाल अनुसार फरकफरक आरोहण दस्तुर निर्धारण गरेको छ। विदेशी नागरिकका लागि विभागले शरद ऋतुमा सगरमाथा आरोहण गर्न पाँच हजार पाँच सय अमेरिकी डलर दस्तुर रकम बापत लिन्छ भने नेपालीका लागि ३७ हजार पाँच सय रूपैयाँ मात्र लिने गरेको छ।
यस्तै आठ हजार मिटरमाथि उचाइ भएका हिमालका लागि विभागले अनुमति बापत विदेशी नागरिकका लागि शरद ऋतुमा नौ सय अमेरिकी डलर लिने गरेको छ भने नेपालीले पाँच हजार रूपैयाँ मात्र तिरे पुग्छ।
हिमाल आरोहण गर्नेहरूको संख्या ऋतु अनुसार घटबढ हुने गर्छ। वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्ने र शरद ऋतुमा मनास्लु र अमादब्लम हिमाल चढ्ने आरोहीको संख्या धेरै हुन्छ। सोही संख्याको आधारमा अनुमति दस्तुर बापतको रकम पनि संकलन हुने गरेको छ।
प्रकाशित: २९ मंसिर २०८० ०१:०९ शुक्रबार