अर्थ

जेलमुक्त हुँदै स्थानेश्वर

स्थानेश्वर भुसालको उद्धारका लागि आर्थिक सहयोग गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायत । तस्बिर: नागरिक

काठमाडौं – रोजगारीका बेला साउदी अरेबियाको जेलमा परेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न ४७ लाख ४६ हजार दुई सय ८१ रुपैयाँ संलकन भएको छ। प्रवासी नेपाली समन्वय समितिको पहलमा संकलन भएको रकम शुक्रबार परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । उनका अनुसार परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको रकम साउदीस्थित नेपाली नियोगमा पुगेपछि भुसाल जेलमुक्त हुनेछन्।

रोजगारीका लागि सात वर्षअघि साउदी पुगेका भुसाल कुनै गल्तीबिना नै त्यहाँको जेलमा बस्न बाध्य पारिएका थिए । परिवारले दिएको जानकारी अनुसार साउदीमा भुसालले गाडी चलाउँथे । गाडी चलाइहेको बेला पछिल्लतिरबाट आइरहेको ट्रकले ठक्कर दिँदा भुसालको चलाइरहेको गाडी उछिट्टिएर अघि पुग्दै सडकमा हिँडिरहेको कारलाई ठक्कर दिएको थियो । सोही ठक्करले कारमा यात्रा गरिरहेका एक साउदी नागरिकको निधन भएको थियो । त्यसपछि उनलाई साउदीको जेद्दास्थित डाबान जेलमा राखिएको छ।

कारलाई ठक्कर दिएर स्थानीय नागरिकको मृत्यु भएको ठहर गर्दै त्यहाँको अदालतले दोषी करार गरेपछि भुसाललाई एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो । उनका परिवारले विभिन्न निकायमा हारगुहार गर्दा जेलमुक्त गराउने कुनै उपाय फेला नपारेपछि प्रवासी नेपाली समन्वय समितिले चार महिनाअघि आवश्यक रकम जुटाउन भुसाल उद्धार अभियान थालेको थियो।

इनोभेटिभ मेनपावरमार्फत साउदी गएका भुसाललाई त्यहाँको रोजगारदाताले पछि सवारी चालक अनुमतिपत्र बनाई दिने प्रलोभन देखाएर गाडी चलाउन लगाएको थियो । साउदीको सवारी चालक अनुमतिपत्र बन्न नपाउँदै सडक दुर्घटनामा स्थानीयको निधन भएपछि त्यहाँको अदालतले दोषी करार गरेको हो।

भुसाल उद्दारका लागि सबभन्दा बढी रकम गैरआवासीय नेपाली संघ (आइसिसी) तथा संघका साउदी र मलेसिया शाखाले गरी १५ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकमबाहेक समितिको पहलमा वैदेशिक रोजगारीमा विभिन्न गन्तव्यमा रहेका आप्रवासीले २८ लाख ९५ हजार नौ सय ८९ र स्वदेशमा ३० हजार दुई सय ९२ रुपैयाँ संकलन भएको छ।
अदालतले तोकेअनुसार रकम मृतकका परिवारलाई बुझाउन नसके भुसाल आजीवन साउदीको जेलमा बस्नुपर्ने फैसला अदालतले गरेको थियो।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेको व्यक्तिलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । खाडी र मध्यपूर्वका थुपैै्र देशमा पुगेका नेपाली समस्यामा पर्ने क्रम नरोएिका कारण संघले कामदारलाई चेतना फैलाउने गरी विभिन्न कार्यक्रम गर्न थालेको समेत भट्टले जानकारी दिए । साउदी जेलमा रहेका भुसालकी दिदी कृष्णमायाले सबैको प्रयासले समस्यामा परेको भाई घर फर्कन लागेको भन्दै खुसी व्यक्त गरिन्।

एनआरएनएले सिन्धुलीगढी जीर्णोदारमा सघाउने
ऐतिहासिक सिन्धुलीगढी जीर्णोदार, पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सघाउने भएको छ । सिन्धुलीगढी जीर्णोद्धार, पुनर्निर्माणका लागि गुरुयोजना बनाउन एनआरएनए र कमलामाई नगरपालिकाबीच सम्झौता भइसकेको संघका सचिव डिबी क्षेत्रीले बताए । सम्झौतामा एनआरएनका अध्यक्ष भवन भट्ट र नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित: ७ माघ २०७४ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App