अर्थ

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य

अर्थमन्त्री प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन्। अरू देशभन्दा नेपालमै किन लगानी गर्ने भनेर लगानीकर्ताले सोध्ने प्रश्नको उत्तर आफूहरूसँग रहेको अर्थमन्त्री भनाइ छ।

आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री महतले भने ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ। त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो। नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्बर क्षेत्र हुन्।’

नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेको उनले बताए। लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको महतको दाबी छ।

विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको महतले बताए।

‘सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसदबाट चाँडै पारित भएर आउँछन्,’ महतले भने, ‘हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) को काम सक्छौं।’ सबै खालका समस्या र चुनौती हटाउन लागिपरेको उनले बताए।

कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको बताए।

प्रकाशित: २६ मंसिर २०८० ०२:३४ मंगलबार

अर्थमन्त्री प्रकाशशरण महत नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र