अर्थ

सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

सल्यान (रासस) – सल्यानमा यस वर्ष ३३ करोड ४ लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो। 

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७ हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो। गत वर्षभन्दा ८ हेक्टर बढीमा सुन्तला उत्पादन भएको छ। 

गत वर्ष जिल्लामा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएकोमा करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो। 

उत्पादित सुन्तलालाई बिक्री गर्न कुने समस्या नभएको कृषकले बताएका छन्। उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ। 

प्रकाशित: ३ माघ २०७४ ०९:५५ बुधबार

सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले उत्पादनमा वृद्धि