अर्थ

मध्य भोटेकोसी निर्माण कछुवा गतिमा

काठमाडौं – अनेक बहाना बनाइँदै मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने समय पर धकेलिँदै गएको छ ।

सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृतरुपमा काम गर्न नसकेका लगायत कारणले आयोजनाको काममा ढिलाइ भएको बताइन्छ ।

अहिले पुनः आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ । तर, चार वर्षभन्दा बढी समयमा ४० प्रतिशत मात्र काम सकिएको उक्त आयोजना आगामी डेढ वर्षमा ६० प्रतिशत सम्पन्न गर्ने सम्भावना देखिएको छैन ।

आयोजना निर्माणमा भएको ढिलाइप्रति सरोकारवालाहरुले असन्तुष्टी व्यक्त गरेका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम जसरी पनि दुई वर्षभित्र सक्न निर्देशन दिएका छन् ।

उनीहरुले एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिएका हुन् । सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिबार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए । ‘कामलाई तीव्रता दिन जनशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले बेहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिँदै आएका छौं,’ उनले भने, ‘सम्झौताअनुसार काम गरिनुपर्छ, कुनै पनि हालतमा आयोजना निर्माणमा ढिलाइ हुनुहुँदैन ।’

आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत् गृहलगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत् गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिब तीन किलोमिटर खनिएको छ । विद्युत् गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षाअनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहे पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । ‘आयोजनाको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्र जसरी पनि सक्नुपर्छ’, उनले भने, ‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाडि बढाउनु होस्, अब आयोजना निर्माणमा ढिलाइ गर्नेलाई छुट दिन सकिँदैन ।’

दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थपी निर्माणलाई तीव्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले बेहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए । घिसिङ चिलिमे कम्पनीको प्रवन्ध सञ्चालक रहेका बेला आयोजना अगाडि बढाइएको थियो ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिोमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ ।

१२ अर्ब २८ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोका चार इन्भेस्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिकरुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ ।
 

प्रकाशित: २ माघ २०७४ ०४:१२ मंगलबार

मध्य भोटेकोसी निर्माण कछुवा गतिमा