अर्थ

उन्नतीले किसानको आयस्तरमा सुधार

काठमाडौं–गरिवी न्यूनीकरण गर्नको लागि पूर्वी पहाडका सात जिल्लामा सञ्चालन गरिएको उन्नती कार्यक्रमले स्थानीय किसानको आयस्तरमा सुधार ल्याउन टेवा पुगेको छ ।

किसानलाई चिया, अलैची, अदुवा खेतीमा आकर्षित गर्दै उत्पादन वृद्धि गरी बजार व्यवस्थामा सघाएको हो । पशुपालनलाई व्यवसायीकरण गर्दै दुध उत्पादन वृद्धि गरी बजारीकरणमा पनि सहयोग गरेको छ ।
भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न गाउँका किसानलाई व्यवसायीकरण गरी आयआर्जन वृद्धिमा टेवा पुगेको स्थानीय बताउँछन् ।

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती कार्यक्रम मार्फत चिया, अलैची, अदुवा खेती र पशुपालनमा व्यवसायीकरण गरिरहेको छ । किसानको उत्पादनलाई बजारमा पुर्याउनको लागि सडक पूर्वाधार पनि निर्माण गरिएको छ ।  संखुवासभामा मात्र १२ वटा समुदायमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ । चिया, अलैची, अदुवाका प्रशोधनको लागि अत्याधुनिक मेसिन सहितका प्रशोधन गृह निर्माण गरिएको छ । संखुवासभाको आँखीभुइँ, माम्लिङ्ग, चैनपुर, खाँदवारी, सितलपाटी, दिदिङ्ग, माङ्गेतेवा पाथिभरा लगायतका स्थानमा किसानलाई समुदायमा आधारित कार्यक्रम सञ्चालन गरेको उन्नती कार्यक्रमका कृषि व्यापार विशेषज्ञ दिपेन्द्र पन्तले बताए ।  ‘किसानलाई ५० देखि ९० प्रतिशतसम्म अनुदान सहयोग गरेका छौं,’ पन्तले भने, ‘उत्पादन बढाएर जीविकोपार्जनमा सुधार ल्याउने योजना हो ।’

उन्नतीले विभिन्न सहकारी संस्था मार्फत किसानलाई अनुदान दिँदै आएको छ । सो कार्यक्रमले किसानको आयस्तरमा सुधार ल्याउन टेवा पुगेको स्थानीय किसान बताउँछन् । उन्नती कार्यक्रमको सहयोगले किसानको आयआर्जनमा सुधार ल्याउन सहयोग पुगेको मकालु चिया तथा कफी प्रशोधन सहकारी लिमिटेडका अध्यक्ष भिम लिंखाले बताए ।

‘मेसिन, उपकरणसहित प्रशोधन केन्द्र निर्माणमा ५० प्रतिशत अनुदान दिएको छ,’ अध्यक्ष लिंखाले भने, ‘किसानलाई तामिल प्रदान गरेर चिया खेतीमा लाग्न प्रेरित गरिहेको छ ।’ मकालु सहकारीमा करिब एक सय जना किसान आबद्ध रहेको उनले बताए । ‘चियालाई गुणस्तरीय बनाएर अन्तराष्ट्रिय बजारमा बिक्री गर्ने योजना हो,’ उनले भने, ‘अर्गानिक चिया उत्पादनमा सघाएकाले निकै उत्साहित भएका छौं ।’
किसानलाई तालिम सहित उत्पादित वस्तुको प्रशोधन गरी बजारीकरण गर्नको लागि प्रशोधन केन्द्र निर्माणको लागि संखुवासभामा मात्र एक करोड ४६ लाख रुपैयाँ अनुदान दिएको हो ।

मकालु चिया तथा कफी उत्पादन सहकारी संस्था मुढे, वानेश्वर चिया तथा उद्योग प्रालि चैनपुरको चिया प्रशोधन उद्योग सञ्चालन गर्नको लागि ३९ लाख १० हजार, टिएमजे कृषि तथा कृषि पर्यटन विकास केन्द्रमा अलैंची प्रशोधन केन्द्रको लागि ३९ लाख ३४ हजार, माम्लिङुग दुग्ध सहकारी संस्थाको डेरीको लागि २१ लाख ८५ हजार, लोगाकोट बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्मलाई १९ लाख ९० हजार, मागध कृषि केन्द्र डेरी खाँदबारीको लागि २० लाख २६ हजार, कालिका कृषि सहकारी संस्थामा अदुवा प्रशोधन केन्द्रको लागि ११ लाख १५ हजार रुपैयाँ अनुदान दिइसकेको आयोजनाले जनाएको छ । ‘अगुवा किसानलाई तामिल प्रदान गरी प्रविधि पनि सिकाएका छौं,’ पन्तले भने, ‘उन्नत प्रविधिलाई अभियानकै रुपमा सञ्चालन गरिएको छ ।’

सो कार्यक्रम अन्तरगत जिल्ला प्राविधिक कार्यालयसँग सहकार्य गरेर ग्रामिण सडकको स्तरोन्नतीमा पनि सघाइएको छ । २० किलोमिटरको चैनपुर–नुनढाकी–गुफापोखरी सडक,साढे १५ किलोमिटरको तथाभ्याङ्खोाल–याफुडाँडा–तोम्वे सडकको स्तरोन्नती गरिएको छ । पूर्वाधार निर्माण र किसानको लागि ३० करोड रुपैयाँ खर्च गरिएको छ । पूर्वाधार विकासमा २७ करोड र मूल्य श्रृखला विकासतर्फ ३ करोड रुपैयाँ रहेको छ । पूर्वाधार निर्माणको सबै रकम अनुदान र मूल्य श्रृखला अन्तरगत एक करोड ६८लाख रुपैयाँ अनुदान रहेको छ ।

 

 

 

प्रकाशित: २ माघ २०७४ ०३:५३ मंगलबार

उन्नतीले किसानको आयस्तरमा सुधार