अर्थ

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने

 

काठमाडौं- निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ । आगामी वैशाख १ गतेदेखि यो रुटमा उडान गर्ने घोषणा आइतबार गरेको हो ।

हाल काठमाडौंबाट नेपालगन्ज उडान गरिरहेको बुद्धले अब पोखराबाट उडान गर्न लागेको हो । पोखरा–नेपालगन्ज दैनिक एक उडान गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी पोखराबाट चितवनको भरतपुर र रुपन्देहीको भैरहवा उडान पनि गरिरहेको छ भने पोखराबाटै ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ

‘विशेष गरी पोखरा आइपुगेको भारतीय पर्यटक सहज तरिकाले तिब्बतको मानसरोवर जान सकुन् भन्ने उद्देश्यले पोखरा–नेपालगन्ज उडान सुरु गर्न लागेका हौं,’ बुद्धले आइतबार जारी गरेको विज्ञप्तिमा छ, ‘भारतीय पर्यटक पोखरा पनि जान चाहन्छन् र मानसरोवर पनि जान चाहन्छन् तर स्थलमार्गबाट लामो दुरी पर्ने र यात्रा कष्टकर हुने गरेका कारण पोखरा–नेपालगन्ज उडान गर्न लागेका हौं ।’

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब चार दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन ।

 

 

 

 

 

प्रकाशित: १ माघ २०७४ ०५:०५ सोमबार

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने