अर्थ

बैंकको सास्तीविरुद्ध उद्योगी–व्यवसायी आन्दोलित

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उद्योगी–व्यवसायी। तस्बिर: नागरिक

बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यहाँका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उद्योगी–व्यवसायीले संघर्ष समिति नै बनाएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संंयोजकत्वमा एक हजार एक सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको हो।

नेपाल सरकारको अव्यावहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याबारे संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको बृहत् अन्तरक्रियामा संघर्ष समिति गठन गरेर आन्दोलनमा जाने निर्णय गरिएको थियो।

उक्त समितिको संरक्षकमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाट सदस्य (सचिव) रहेको बताइएको छ। समितिको सचिवालय भने ४१ सदस्यीय रहेको जनाइएको छ। 

यसैगरी संघका पूर्वअध्यक्ष, सल्लाहकार एंव संरक्षक कन्हैयालाल टण्डन, अच्युत प्रसाई, सतिशचन्द्र अग्रवाल, सुनिलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कृष्णा पाठक, शेषकान्त शर्मा, कुबेर रिजाल, जीवनाथ सापकोटा र शर्मिला खत्री, दुर्गाप्रसाद भण्डारी, मुरलीधर मिश्र, विष्णु खनाल, भोजराज तिमिल्सेना र सलाउद्दिन जसगढलाई सल्लाहकार चयन गरिएको छ।

संयोजक धामीले संघर्ष समितिलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य संघले पनि समर्थन जनाएको बताए।

प्रकाशित: २२ मंसिर २०८० ०३:५५ शुक्रबार

उद्योगी–व्यवसायी बैंकको सास्ती संघर्ष समिति आन्दोलन