अर्थ

मुहार फेर्दै कर्णाली करिडोर

कर्णाली करिडोरस्थित कालीकोटको सान्नीगाडमा जिप गुड्दै । तस्बिर : नागरिक

कालिकोट – दुई दशकदेखि अलपत्र बनेको कर्णाली करिडोरको ट्र्याक बनाउने काम अहिले दु्रत गतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो करिडोरको निर्माण कार्यले अहिले गति लिएको हो। 

हाल कर्णाली करिडोर अन्तर्गत खुलालु–सिमीकोट खण्डको ६६ किलोमिटरको निर्माण पूरा भएको छ । जिल्लाको लालीघाटदेखि घाटपारी चौर ३३ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै बाजुराको राताडाडादेखि अर्थुंगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको हो। 

कर्णाली करिडोर अन्तर्गतको एक सय ९६ किलोमिटर खण्डमध्ये खुलालु–सिमीकोट ६६ किलोमिटरमा गाडी सञ्चालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ। 

कर्णाली करिडोर अन्तर्गतको हाल लालीघाटदेखि घाटपारीचौरसम्मको ३३ किलोमिटरमा गाडी सञ्चालन भएका छन् । भुक्काखोलाको भीर फोरेमा करिब ७० किलोमिटरसम्म गाडी सञ्चालन गर्न सकिने नेपाली सेना निर्माण कार्यदलका इन्द्रवीर गुरुङले बताए । ‘भुक्काखोलादेखि तोलीभीरसम्म चार किलोमिटर भीर फोर्न बाँकी छ,’ उनले भने, ‘यो भीर फोरियो भने ७० किलोमिटरसम्म निर्माण कार्य पूरा हुनेछ । हालसम्म ६६ किलोमिटर कार्य पूरा भएको छ।’ 

कर्णाली करिडोर निर्माणका लागि नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । कर्णाली करिडोरको १ सय ४५ किलोमिटर खुलालुदेखि हुम्लाको सलिसल्लासम्म नेपाली सेनालाई निर्माण जिम्मा दिइएको छ । सलिसल्लादेखि हुम्लाको सिमीकोटसम्म ५१ किलोमिटर सिमीकोट हिल्सा सडक आयोजनाको जिम्मा सेनालाई दिइएको छ। 

सिमीकोट पुग्ने दुरी घट्दै 
कालीकोटदेखिको दुरी हेर्दा पहिलाको तुलनामा निर्माणको गति निकै बढ्दो छ । कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ । ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर ट्र्याक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन्।

सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रिज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलामा गत वर्षमै ट्र्याक खुलिसकेको थियो । यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोमिटर मात्र गाडी गुड्ने गरेका थिए । हिल्सा सिमीकोट खण्डको नौ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको थापाले बताए । ‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि आधा दर्जन गाडी गुड्न थालेका छन्,’ उनले भने।

समृद्ध कर्णाली प्रदेश
कर्णाली करिडोर निर्माण पूरा भए कर्णाली प्रदेशकै मुहार फेरिने भएको छ । भौगोलिक विकटताले पछि परेको कर्णालीमा सडकको पहुँच पुगेमा विकास र समृद्धिले मुहार फेर्ने भएको हो। 

कर्णाली विकासको मुख्य ढोका कर्णाली करिडोर नै भएको स्थानीयको भनाइ छ । कर्णाली करिडोर निर्माण पूरा भएपछि कर्णालीमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत विकासका पूर्वाधारमा राम्रो फड्को मार्ने जानकार बताउँछन् । कर्णाली करिडोरले चीनसँगको सीमा जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक बन्नेछ । यसको कुल लम्बाइ पाँच सय ३० किलोमिटर रहने छ । 
सडक खण्ड निर्माण भए भारतबाट हुम्लाको मानसरोवर आउने पर्यटकका लागि अत्यन्तै छोटो दूरी हुने छ । आन्तरिक र बाह्य पर्यटकका लागि निकै राम्रो र छोटो दूरीको कर्णाली राजमार्ग हुनेछ । करिडोर निर्माण भए पर्यटन र व्यापारका दृष्टिकोणले तीनदेशीय ट्रान्जिट बन्ने भएकाले विकासको दृष्टिकोणले पछि परेको कर्णालीको वास्तविक पहिचान हुने कर्णालीवासीको भनाइ छ । कर्णाली करिडोर निर्माण भए कर्णाली तीन देशको व्यापारिक मूलधार हुने भएको छ। 

करिडोर निर्माणमा बजेट फालाफाल
विगतका वर्षमा बजेट अभावले काम बन्द हुने भएपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको हो । रकम धेरै लगानी काम शून्य भएपछि सडक विभागले सेनालाई दिएको हो । सेनाले जिम्मा लिनुपूर्व ठेकेदारले काम नगर्दा करोडाैँ बजेट फ्रिज हुने गरेको थियो । करिडोरको खुलालु–हुम्ला सिमीकोटमा सडक विभागले आर्थिक वर्ष ०६५/६६ देखि काम सुरु गरे पनि लक्ष्यअनुसार कामको प्रगति देखिएको थिएन । कर्णाली करिडोर निर्माण पूरा भएपछि कालीकोट कर्णालीपारिका १७ गाविससहित बाजुरा, मुगुको पश्चिम भेक र हुम्लाबासीको विकासको मुख्य पूर्वाधार सडकको सपना साकार हुने जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए। 

कर्णाली करिडोरमा गाडी गुडेपछि गरिबीको रेखामुनि रहेका हजारौं नागरिकका लागि ठूलो राहत भएको नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बताए । करिडोरको काम ०७६ सालभित्र सम्पन्न गर्ने नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्द्रवीर गुरुङले सुनाए । सडक निर्माणका लागि सरदर प्रतिकिलोमिटर ७० लाख लागत पर्ने कर्णेल गुरुङको भनाइ छ। 

नेपाली सेनाले सडकको जिम्मा लिएसँगै करिडोरको निर्माण कार्य देखेर स्थानीय खुसी भएका छन् । गत जेठ २२ गते कर्णाली करिडोरको जिते–लालीघाट हुँदै रेगिल, जारकोटसम्म जिप पुगेका छन्। 

करिडोरकै सबैभन्दा अप्ठेरो चट्टान लालीघाटदेखि रेगिल शान्नीगाडसम्मको भए पनि एक वर्षभित्रै गाडी गुडाएपछि स्थानीय दंग छन् । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको कर्णाली करिडोरमा गाडी गुड्दा अब कर्णाली समृद्धिको यात्रामा अघि बढेको यहाँका जानकारको बुझाइ छ । २०५७ मा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शिलान्यास गरेको कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको एक सय ९२ किलोमिटर सडकखण्ड १५ वर्षसम्म पनि गति लिन नसेकेपछि स्थानीयको माग अनुसार नेपाली सेनाले कर्णाली करिडोर निर्माण गर्ने जिम्मा लिएको थियो । 

प्रकाशित: ३० पुस २०७४ ०४:३३ आइतबार

मुहार फेर्दै कर्णाली करिडोर