अर्थ

केरा खाने हैन ? बरफल्याङ आउनुस्

कुनै समय गाउँमा काम खोज्दै हिँड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिन्थे। निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छाडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो। उनले तीन बिघामा केरा खेती गर्दै आएको बताए। गजमेरजस्तै इलामको रोङ– २ का अधिकांश कृषिको मुख्य आयस्रोतका रूपमा केरा खेती रहेको छ।

कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्। २०४५ सालतिर चाडपर्वमा खानका लागि रोपिएको केरा अहिले उनीहरूको गर्जो टार्ने गतिलो माध्यम बनेको छ। केही वर्षअघिसम्म सिँचाइ अभावमा जमिन बाँझै राख्ने इलामको रोङ– २ का स्थानीयको बारी अहिले कतै खाली छैन। स्थानीय किसान टंक अधिकारीले भने, ‘२०४५ सालतिर बारीको डिलमा रोप्ने गरेको थियो। पछि राम्रो भएपछि बारीभित्र पनि सुपारी र केरा रोप्न थालिएको हो।’

सुपारी र केरा बहुतले खेतीका रूपमा रोप्ने गरेको अधिकारीले बताए। केही वर्षदेखि बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यावसायिक रूपमै गर्न थालेका हुन्। हाल रोङ– २ को बरफ्ल्याङ, दुधे, बगैंचा, धनसार क्षेत्रका बासिन्दाले व्यावसायिक रूपमा केरा खेती गरिरहेको वडाध्यक्ष टेकबहादुर तामाङले बताए।

किसानले स्थानीय जातका लाल, भण्डारी, घीउ केरा र उन्नत जातको सिंगापुरिया केरा लगाएको किसान अधिकारी बताए। केरासँगै बहुतले खेतीका रूपमा सुपारी खेतीसमेत गर्न सकिने भएपछि सबै बारीमा केरा र सुपारी रोपेको कृषक रामचन्द्र दाहालले बताए।

किन्नका लागि व्यापारी घरघरमा आउने गरेकाले बजारको कुनै समस्या नभएको किसान मनोज दाहालले बताए। किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन्। व्यापारीले प्रतिघरी एक सयदेखि तीन सय ५० सम्ममा किन्ने गरेको किसान नथुनीदास चौधरीले बताए। चौधरीले भने, ‘लगभग तीन बिगाहमा केरा र सुपारी लगाएको छु, घर चलाउन मज्जाले पुगेको छ। केरामा अरू ठूलो रोग नदेखिए पनि गबारो र बर्खामा छिर्का बस्ने समस्या देखिने गरेको किसान कर्ण खड्काले बताए।

प्रशस्त मात्रामा केरा खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घाँसका रूपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुंगो र कोसाको भेट्नोबाट ५० भन्दा बढी परिकार बनाउनका लागि तालिम सञ्चालन गरेको वडाध्यक्ष तामाङले बताए। केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्रान्डी, रोटीलगायत चारदर्जन बढी परिकार बनाउन सकिने स्थानीय कृषकले बताएका छन्।

विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका– २ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ। यहाँ तीन सयभन्दा बढी कृषकले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। उनीहरूले न्यूनतम तीन रोपनीदेखि तीन बिगाह क्षेत्रमा केरा लगाएका छन्।

किसानले सुपारी र केराबाट प्रतिकट्ठा वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्रीसमेत गर्न थालेका छन्। स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ। रासस

प्रकाशित: २० मंसिर २०८० ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App