अर्थ

बाँझो जमिनमा घाँस खेती गर्नेलाई अनुदान

बाँझो जमिनमा घाँस खेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइने भएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुईं घाँस तथा डाले घाँस खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा. शर्मिला कुमालले जानकारी दिए।

कार्यालयले प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ। ‘बाँझो जग्गामा घाँस खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ’, निमित्त प्रमुख कुमालले भने।

किसानले घाँस खेती गरेसँगै त्यसको उपयोगिताका बारेमा अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ। बाँझो जग्गा भाडामा लिएर घाँस खेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उनले बताए।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्ने छ। गोराखा जिल्लामा करिब ट हजार रोपनी बाँझो जमिनमा घाँस खेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालले बताए। बाँझो जग्गामा घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिने छ। –रासस

प्रकाशित: २० मंसिर २०८० ०२:४९ बुधबार

बाँझो जमिनमा घाँस खेती भुईं घाँस तथा डाले घाँस खेती गर्ने किसानलाई अनुदान